Thursday, March 23, 2017

 फेसबुक महात्म्य
 
उहिले बाजेको पालाको कुरा के … हाम्रा बाजेहरू पल्लो मुलुक घुम्न गएको अरे (पल्लो मुलुक भनेको भारत)। त्यो बेला यो फेसबुक भन्ने जन्तु भएको भए क्या स्वादले फोटो हाल्थे होला है। 

२००७ तिर हो जस्तो  लाग्छ, मैले यसमा आफ्नो खाता खोलेको।  त्यो बेला फेसबुके साथी त्यति थिएनन्, हुन त चलाउनेको संख्या नै धेरै थिएन।  समय कति परिस्कृत हुँदै आयो भने, आजकल यो बिना त जीवन सम्भव नै छैन जस्तो पो देखिन थाल्यो।  एउटा रमाइलो घटना याद आयो, कुरो चैं सुनेको हो है, शुरुमै भन्देको, एक जनालाई बैंकमा जागिर खान अन्तरवार्तामा बसेको बेला प्रश्न सोधेछन्, यो इन्टरनेट भनेको के हो भनेर, आलो काँचो भर्खरको ठिटोले जवाफ दिएछ, "फेसबुक" ।

त्यो बेला न त अहिले जस्तो डिजिटल क्यामेराको बिगबिगी थियो न त त्यो ट्यां टूं मात्र बज्ने मोवाइलमा क्यामेरा थियो, फेसबुकमा एउटा नयाँ फोटो हाल्न पाए त युद्ध जिते जस्तो हुन्थ्यो।  न अहिले जस्तो Check in न Feeling के- के मात्र हो, सिधा सादा Status लेख्यो अनि छोड्यो।  जमानामा छुट्टिएका साथी भेट्टाउने देखि लिएर को कहाँ के गर्दै छ भनेर सारा संसारको खबर आदान प्रदान गर्ने मध्यम बन्यो फेसबुक।  लाइकको भारी देखि कमेन्टको ओइरो भनौं या म जस्तो मनलाग्दी लेखेर पोस्ट्याउनेको थलो भनौं सबैको साझा बिसौनी हाम्रो प्यारो फेसबुक।

अब कुरा गरौँ यसले लगाउने हैरानी।  "मेरो प्यारो बुढा / बुढी तिमीलाई जन्मदिनको शुभकामना। आइ लोप यु।"  Love वाला होइन Lop वाला चैं है। अब फेसबुकमा सुरुमा यो देख्दा त लाग्यो लौ !!! यी दुई बुढा बुढी कता छुट्टिएर बस्न थालेछन्, कुन चैं को सरुवा पो भन्यो कि जस्तो नि।  भरे कुरो बुझ्दै जाँदा त संगै हुने रैछन् अनि यो संसारको अगाडी हिज्जे पनि नमिलेको  I Lop You के का लागी हो, बुझ्नै गाह्रो पर्यो।  अब जन्मदिन भन्ने त थाहा भयो , शुभकामना त अरुले पनि दिन शुरु गर्छन् नि।यी मध्ये कोही कोही महानुभाव हुनुहुन्छ जसलाई शुभकामना पनि दिनु पर्ने हुन्छ अनि बिचरालाई समयको सारै अभाव हुन्छ "Happy Birthday" मलाई यो टाइप गर्न ठ्याक्कै ३ सेकेन्ड लाग्यो, उहाँ संग त्यो समय पनि हुँदैन र HBD लेख्नु हुन्छ, यो हो नि त सेकेन्ड सेकेन्डको महत्व बुझेको मानिस, उहाँले त्यो बचेको २ सेकेन्डमा अति महत्वपुर्ण काम गरेर सक्नु हुन्छ।

विश्व वातावरण दिवस होस् या एड्स दिवस, नारी दिवसदेखि लिएर आमा बुवाको मुख हेर्ने दिन, सबै थाहा दिने थलो हो फेसबुक।  अझ काग तिहारको दिन त कसको घरमा कतिवटा काग बस्छन्, त्यो सम्म थाहा हुन्छ हामीलाई। दशैंको बेला राताम्य निधारको फोटो अनि होलीको माहौलमा रंगीचंगी भित्ताहरु, यहि हो हाम्रो फेसबुक।

पहिला रिलवाला क्यामेरा हुँदा यादहरु कैद गर्न फोटो खिचिन्थ्यो, अचेल अरुलाई भोक लागेको, बेला मैले यो खाएँ भनेर भनेर पोस्ट्याउनलाई खिचिन्छ।  अर्को एउटा फेसबुके  वर्गको कुरा गरौँ है, Check in वर्ग, यी महानुभावहरुले  कहाँ कतिबेला को संग बसेर के-के गर्नुभयो सबै थाहा हुन्छ। रेस्टुराँमा बसेर खाएको देखि सिनेमा हेर्न गएको अनि उहाँले त्यसमा कस्तो महसुस गर्नुभयो सम्पूर्ण कुराको हेक्का फेसबुक मार्फत हुन्छ त्यो पनि एक आध पटक होइन, प्रत्येक पटक। अनि त्यो ओठ चुच्चो सेल्फी कसरी बिर्सन सक्नु, ठ्याक्क फोनलाई अलि माथि लग्यो, ओठ चुच्चो पार्यो अनि 'खिचिक्क", तयार भयो एउटा नयाँ फोटो फेसबुकमा हाल्नलाई, आफ्नो त सेल्फी सुहाउँदो अनुहार नभएर होला, सेल्फी क्यामेरा खोल्यो कि अर्कै को हो को जस्तो देखिन्छ ।  

अब यो संसारमा सबैको जोडी त ठ्याकै सुहाउने हुँदैन नि, बिवाह वर्षगांठ , Anniversary क्या ! (अलि नेपाली कमजोर भएकोहरुलाई यो अंग्रेजी चैं ) आउन पाएको हुँदैन, एउटा जोडीको  फोटो पोस्टिन्छ, क्या सुहाएको जोडी अथवा यस्तै यस्तै केही गज्जबका चिजहरुले जोडीको बयान गरेर। अब त्यो जोडी हाँस र कागको जस्तो होस् या साच्चैं मिलेको होस त्यो चैं आफैं विचार गर्नु पर्ने हुन्छ तर पनि हाम्रो बर्णन गर्ने क्षमतालाई हजार जिब्रो भएको शेष नागले पनि भेट्न हम्मे हम्मे पर्छ।

यसका आफ्नै अलि जटिल सामाजिक समस्याहरु पनि छन्,  जसलाई मैले भन्दा पनि प्रहरीको Cyber Crime Cell ले हेर्दा नै उचित होला तर हामी सोझा साझा समय मात्र कटाएर साथी, भाई, बहिनी तथा आफ्नो वरिपरि या सात समुन्द्र पारी नै किन नहोस, सबैको ठाउँ, थात थलो, रहन सहन हेर्न पाउँदा चैं खुशी नै लाग्छ लाग्छ।

लेख्दा लेख्दै अलि धेरै पो भयो कि जस्तो लाग्यो, आजलाई, जय होस् फेसबुकको। 

Nishil
23/3/2017

Sunday, March 19, 2017

 Buddha was born in Nepal


"Buddha was born in Nepal" कस्तो मज्जा आउँछ है भन्नलाई। यहि एउटा वाक्य हो जसले हाम्रो सार्वभौमिकता, राष्ट्रियता र हाम्रो नेपाली हुनुको गर्व एउटा मियोमा राखेको छ। यो वाक्यलाई कसैले छुसुक्क पनि दायाँ बायाँ गरोस त , नेपाली जनताले उसलाई माफ गर्ने छैनन्।  सिद्धार्थ गौतम नेपाली भू-भाग मा जन्मिएका हुन् र उनले बुद्धत्व भारतको गया मै प्राप्त गरेका हुन्, कसैको दुइमत छैन तर पनि  गर्व त जन्मेकै ठाउँ ले गर्नु पर्छ नि होइन र? कर्म गर्ने ठाउँ जाओस न  खोलै खोला, हामीलाई के को मतलब।
 
त्यस्तै अर्को राष्ट्रियता छुने गौरव छ हाम्रो, विश्वको सर्वोच्च शिखर सगरमाथा। विध्यालयमा कनि कुथी ८८४८ मिटर अग्लो भन्दै रटेको हाम्रो उत्तरी पर्खाल। कहिले मौसम परिवर्तन र कहिले भूइंचालोको आडमा, हामीले रटान मारेको मिटर हेरफेर हुने स्थिति पनि आए तर हामीले  अहिले सम्म अर्को अंक रट्नु परेको छैन। मौसमको मार र समयको बिशाल फेरोको बिचमा अझै पनि सगरमाथाले हामी नेपाली हुनुको नाक जोगाएर राखेको छ।
 
मलाई देश माथि गर्व हुने कुरा खोज्न धेरै बेर मगज खियाए पछि, उत्तरी भू-भागमा भएका मनोरम पहाडी तथा हिमाली भेगको याद आयो तर फेरी झल्याँस्स त्यहाँ जाने बाटो अनि त्यहाँको रहन सहनका साथै त्यहाँको विकटताको परिवेश सम्झें र एकछिन रनभुल्लमा परें, यो चिजलाई बरदान मान्ने कि श्राप। बरदान मानौं भने अहिले सम्म त्यस्तो ठाउँका बासिन्दा त उँभो लागेका छैनन्, अरुको के पो कुरा गर्नु र होइन श्राप हो भनौं भने देशद्रोही भन्लान कि भन्ने डर छ। 
 
ए साँच्चै, हामी त वीर गोर्खाली पनि पो हो त ! झन्नै अर्को पुरुषार्थ बिर्सेको मैले।  बेलायती लाहुरे, सिंगापुरे पुलिस, भारतीय सेना, ब्रुनाईको सुल्तानका  अंगरक्षकको फौज त कहाँ हाम्रो वीरता  बिना सम्भव हुन्छ र।  सेना त नेपालको पनि छ नि, तर कुनै बेला आफ्नै दाजु भाई संग लडाई गरेर बस्नेलाई कसले बहादुर भन्ला र खै।  बहादुर त ति पो हुन् त जो अर्काको देशमा गएर आफ्नो पुरुषार्थ देखाउंछन्।

बैंकमा बसेपछि कहिले कहीं देश को अर्थतन्त्रको बारेमा विचार आउँछ अनि सोच्छु, त्यो खाडीमा गएर ४०-५० डिग्रीको गर्मिमा पसिना चुहाएर रेमिट्यान्स पठाउनेको इज्जत त के गराई भयो र, विदेश बाट आउँदा पनि जाबो एउटा टि भी ल्याउँछन्, आफ्नो परिवारको लागि, त्यो पनि डोरीले बाँधेर ।   इज्जत त उनीहरुको हुन्छ, जो चिट्ठा र दुनियादारी गरेर मुलुकबाट पलायन हुन्छन् ।  कमसेकम, "ठुला" देश गएका छन्।  भाँडा माझे पनि अब्बल किसिमका प्रजातिको मान्छेहरुको जुठो सफा गरेका हुन् नि। उनीहरु त्यस्तो मुलुक गएका छन् जहाँबाट हामीलाई हेर्दा हामी केहि नजान्ने "डुकु" देखिन्छ।  फेरी आफ्नो देश छोडेर पलायन भए पछि I love Nepal भने पछि त, उनीहरु भन्दा ठुलो राष्ट्रभक्त हामी यहाँको धुलो, हिलो, मैलो खाएर बसेको "ग्वांच" नेपाली कहाँ हुन सक्छौं र।

कोही प्रति सिधै लक्ष्य गरेर लेखेको त होइन, तर कसैको आत्मसम्मान र राष्ट्रिय भावनाले ओतप्रोत चित्त दुख्यो भने चै म भित्री मुटु, भन्छन् नि "Bottom of my heart" बाट माफी माग्न चाहन्छु।

Nishil
19/03/2017