Wednesday, October 3, 2012

नेपालीको राष्ट्रियता कहाँबाट जाग्छ कुन्नि बेला बेला। बिचरा जनतालाई अहिले खायो भरे के खाउँ, भरे खायो भोलि के खाउँ भन्ने गरि महंगी बढेको छ। विदेशमा पैसा कमाउने सपना बोकेर गएकाहरु लाश बनेर फर्किन थालेको धेरै भैसक्यो। अहिले पनि यहाँ  भएका नेपालीहरुलाई सोध्ने हो भने, आधा भन्दा बढीको सपना विदेश गएर आफ्नो भविष्य सुनौलो बनाउने नै हुन्छ।

आफुले थाहा नपाएको बाटो हिंड्नलाई होस् या आफुले गर्न नसक्ने काम होस्, हामी त्यसको लागि एउटा अगुवा खोज्छौं। कालान्तरमा ति अगुवाहरुलाई नै शायद नेता भनेर नामकरण गरेको हुनुपर्छ। नेता, यानी नेतृत्व गर्न सक्ने अगुवा। शुरुवात त राम्रै  रूपमा भएको हुनु पर्छ, अझै पनि राम्रो संग बाटो देखाउने मान्छे  त छन् यो दुनियामा, शायद हाम्रै देशमा मात्र यसको अनिकाल लागेको हुनुपर्छ।

जति बेलाको कुरा मैले उल्लेख गर्न खोजेको हो, त्यो समय ताका म हुन त धेरै सानो थिएँ तर पनि मलाई थाहा छ, हामी नेपाललाई हिन्दु राष्ट्र भनेर गर्व गर्दा कसैलाई पनि पीर पर्दैन थियो। हाम्रो देश "चार जात र छत्तिस वर्ण" को भनेर छाती फुलाउंदा कसैले जातीय विभेदको कुरा निकाल्दैन थियो। "श्रीमान गम्भीर नेपाली"  गाउँदा सधैं छाती फुलेल र शीर नतमस्तक हुन्थ्यो।

तार्किक रुपमा भन्नेहरुले, समयको चाहना भन्लान या कुनै अर्को शब्दले तर्क देलान तर पनि "श्रीमान गम्भीर नेपाली" देखि "सयौं थुंगा फूलका हामी" सम्मको यात्रालाई मेरो परिभाषाले समयको चाहना भन्दा पनि लूटको छूट भन्ने उपर्युक्त भेट्छ। न त म इतिहासविद् नै हो, न त राजनीतिज्ञ, तर पनि यति थाहा छ, जुन बेला हामी गर्व गरेर "श्रीमान गम्भीर नेपाली" गाएर नेपालीपनमा गर्व गर्थ्यौं त्यो अहिले न त कसैमा देखेको छु, न त कसैमा देख्ने आस नै गरेको छु। प्रत्येक राष्ट्रमा एउटा कर तिर्ने नागरिक सम्मानको हकदार हुन्छ, किनकी उसले कर देशको बिकासको लागि भनेर तिरेको हुन्छ। आज, प्रत्येक महिनामा मेरो तलबमा कर कट्टी हुँदा म आफैंमा हीनता बोध हुन्छ। कर त कट्टा भयो तर के क लागि? यो प्रश्नले मेरो पिछा कहिले छोड्न सकेन।

छिमेकी भनेको एक आपसलाई सहयोग र सदभावको भावना राख्ने नाता हो। कम्तिमा समाजशास्त्रले चाहीं यहि भन्छ। अहिले हामीले देख्दै भोग्दै र सुन्दै आएको कुरामा छिमेकीको परिभाषा परिवर्तित देखिन्छ। अहिले छिमेकी भनेको इर्ष्या, डाहा र देखासिकीको माध्यम बनेको छ। यहाँ कुनै नेपालीले देशद्रोह गरेपनि कसैको राष्ट्रियता जाग्दैन, नत्र खुलेआम भ्रष्टाचार गर्नेहरु किन अझै सम्मानितहरुमा गनिन्छन्? कि त भ्रष्टाचारलाई देशद्रोह हो भन्नु भएन। नत्र, राष्ट्रको कोष दुरुपयोग सांचैको मानेमा देशद्रोह हो।

नेपालीको राष्ट्रियता त्यो बेला जाग्छ, जुन बेला अमेरिकामा, कुनै जुत्ता कम्पनीले आफ्नो जुत्तामा बुद्धको चित्र छाप्छ। जुन देशमा आफ्नो देशको झन्डा भएको कट्टु पनि लगाउँछन् , त्यस्तो देशमा यो कुनै ठुलो कुरा नै होइन। हाम्रो नेपालीत्व त्यति बेला जाग्छ जतिबेला एउटा भारतीय कलाकारले नेपाल मन पर्दैन भन्छ, जबकी त्यो भनेको पनि थिएन। (त्यो काण्डमा Rendezvous with Simi Girewal हेर्ने मध्यको म पनि एक हो)। हिन्दी चलचित्रलाई रोक लगाउनुमा हामी राष्ट्र प्रेम महसुस गर्छौं।

हाम्रो देशमा छिमेकीको इर्ष्या गर्ने बेलामा राष्ट्रियता हावी हुन्छ, अरु बेला हावा हुन्छ। नेपालमा यहि एउटा छिमेकी नभएको भए, न त जनताले खान पाउँथे, न त लाउन नै।  अर्काको प्रगति देख्न नसक्नेले आफुले त्यो भन्दा धेरै प्रगति गरेर देखाउन सके पो साँच्चै अर्थमा केहि भन्न मिल्छ नत्र यो इर्ष्या र डाहाको मात्र राष्ट्रियता कहिले सम्म र किन जगाई राख्ने? 

Thursday, September 20, 2012

आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु! यो विचार आफ्नो  जागिरे जीवनमा कति जनाले ल्याएको छैन होला र ! म यो मामलामा पनि पहिलो चाहिं होइन। सधैं घर - जागिर , जागिर-घर।

क्याम्पस पढुन्जेल, "पढ्न त पढियो, अब चट्ट एउटा जागिर पाए त "  हुन्थ्यो सधैं मनमा खेल्ने कुरा। पेट पाल्नलाई  होस्  या समय फाल्नलाई , कनि - कुथी सबैले केहि न केहि जागिर खाएकै छन्। जागिर पाउने बेलामा गर्नु पर्ने जि - हजुरी र लगाउनु पर्ने सोर्स - फोर्स, ज्याक त छदैं छ।  अब जागिर पाए पछि अर्को पिरलो, आफु सुरु सुरु हिंडेर कार्यालय जाँदै गर्दा कि त पानी पर्छ, कि त सधैं हत्तार हुने त्यो भटभटेले हिलो छ्याप्छ, होइन भने बाटो काट्न पनि पालो नपाएर नपाएर ढिलो हुन्छ।  त्यसमाथि हाकिमको जातै बेइमानी, सधैं जसो ढिलो भएको बेलामा उ पहिले नै पुगेर कुर्सीमा बिराजिसकेको हुने। बल्ल तल्ल झुक्किएर समयमा पुगेको दिन, उसको भुँडी हल्लाउँदै एघार बजे तिर मात्र सवारी हुने।

उहिले एउटा किताबमा पढेको थिएँ, "कुनै कुरामा आफु निर्धो भएको महसुस भयो भने आफु भन्दा तलको तप्काकोलाई हेर्नु, सबै ठिक लाग्छ"। मान्छेको जात न हो, कहाँ भनेको टेरिन्छ र! किताबको उपदेशमा आफ्नो भागको सप्रसङ्ग व्याख्या थपियो, " सधैं तलको तप्का तिर हेर्न थालें भने त कहिले प्रगति गर्नु?" आफ्नो ब्याख्या न पर्यो, किन छोड्ने भन्दै आफु भन्दा माथि नै नजर दौडाउन शुरु भयो। आलो काँचो मान्छे, भर्खर जागिर सुरु गरेको, माथि भएकाहरु भनेको त आकाशको फल आँखा तरी मर नै थियो नि। पिलन्धरे ज्यान भएको मलाई, ट्याम्के भुँडी हल्लाउँदै आउने हाकिम देखेर खुब आरिस लाग्थ्यो।

जसो तसो एउटा समय कटाउने जागिर खाईराखेको बेलामा मैले बैंकमा जागिर पाएको, भुइँमा खुट्टा भएनन्। म पनि अब सानो मान्छे त कहाँ हो र भन्ने फुर्ति चढीहाल्यो। हुन पनि हो नि, पाईरहेको तलबको दोब्बर भन्दा पनि बढीको जागिर, त्यो पनि बैंकमा। शुरुको दुई -चार दिन त, के गर्ने र कसो गर्ने भन्ने अत्यास मै बित्यो। नयाँ ठाउँको चमक-दमक,  ठुलो अफिस, घाँटीमा टाई झुन्डाएर हिंड्न पाउँदा, के के न पाए जस्तो भएको थियो।

समय कति छिटो बित्छ भन्ने हिजो आज तिर मात्र भेउ पाउँदैछु। पहिलो पल्ट बैंकमा जागिर पाएको खुशियाली  मनाएको छ वर्ष भन्दा अलि माथि भैसकेछ। यो छ बर्षको अन्तरालमा मैले दुईवटा बैंकको मानव संशाधन बिभागलाई राजिनामा बुझाईसकें। प्रत्येक ठाउँमा राजिनामा बुझाऊंदा, "अब चाहिं यो बैंक छोड्दिन, मैले खोजेको सुबिधा पनि मिल्यो, काम पनि ठिक छ, मस्ती भइहाल्यो नि" भन्ने भावना थियो । तर उही त हो नि, मान्छेको जात, के ले पो चित्त बुझ्छ र। खै के खै के कुराले मनमा अड्को थाप्छ, दिमागमा बाह्र सत्ताइस कुरा घुम्छ अनि दिनभरि घोसे मुन्टो लगाएपछि  निष्कर्ष यहि आउँछ "आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु!"

Nishil
20/09/2012

Tuesday, September 18, 2012

लेख्ने कुत्-कुत् लागेपछि कसले पो छेक्न सक्छ र। मैले सबै भन्दा अगाडी थाहा पाएको साहित्यिक विधाको पत्रिका भनेको "गरिमा" हो। हुन त मैले लेख्ने कुराहरु साहित्यको कुन विधामा पर्छ मलाई थाहा छैन, मैले त आफुमा भएको तल तल मेटाउने मात्र प्रयास गर्दैछु। मलाई साहित्य र लेख्नेको  "खुजली" अहिले देखि लागेको चाहिँ होइन। म आफुले पढेको कथा, उपन्यास आदिमा खुब रमाउंथें। बेला अनुसार, मैले कमिक्सबाट पढ्न शुरु गरेको हो। स्कुले किताब भन्दा, स्वाभाविक रुपमा कमिक्स नै बढी मन पर्थ्यो। बालाई कमिक्स किनी दिनु भन्दा, " तँ मलाई कमिक्सको एउटा फाइदा भन् न, म तलाईं जति भन्छस्  त्यति किनी दिन्छु" भन्नुहुन्थ्यो। त्यो बेला न त मलाई त्यसको फाइदा थाहा थियो न त म घाटा नै केहि देख्थें। त्यहि भएर दमक चोकमा भएको मित-हजुरबाको "श्रेष्ठ बुक्स एंड स्टेशनरी"मा दिन भरि कमिक्स पढेर बस्न मलाई ठिक लाग्थ्यो।

उमेर बढ्दै गए पछि कमिक्सलाई बिट मारेर Novels तिर मन जान थाल्यो। राज कमिक्समा "नागराज" र "सुपर कमाण्डो ध्रुब" का "कारनामा"हरु भन्दा ध्रुब चन्द्र गौतमका उपन्यास र अंग्रेजी Fiction Novelist हरुको लेखाई बढी चित्त बुझ्दो लग्न थाल्यो, तैपनि मैले आजको दिन सम्म पनि कुनै कमिक्स भेटें भने पढ्न चाहिँ छोड़दिन।

मैले जति गफ़ लगाए पनि, मैले ठुलो शहरको स्कूल पढेको होइन। सन् १९९९ मा  S.L.C पास गरेको बेला दमक कहाँ अहिलेको जस्तो थियो र। मलाई अझ सम्म लाग्छ, मेरो अंग्रेजीको आधार भनेको शारदा मिसले पढाएको Grammar र हरिनारायण सरले लेखाएको Essays हो। सुरु सुरुमा अंग्रेजी उपन्यास पढ्न बस्दा नबुझेको एक दुई वटा शब्दको अर्थ या त Dictionaryमा खोज्थें होइन भने मिल्दो अर्थ जे लाग्छ, त्यहि हो भनेर मानेर पढ्थें। साँचै भन्नु पर्दा खेरि, मैले पहिलो पल्ट अलि ठुलो लाईब्रेरी देखेको भनेको काठमाडौँमा शंकर देव पढ्दा मात्र हो। मेरो स्कूलमा त त्यो बेला लाईब्रेरी छदैं थिएन। दस जोड दुई पढ्दा लाईब्रेरी भनेको एउटा किताब कोचेको कोठा थियो, जहाँ किताब छान्ने होइन, एउटा ग्रिल भएको झ्यालबाट सर संग मागेर लिने गर्नु पर्थ्यो। त्यो भन्दा बिजोग हालत  भएको लाईब्रेरी यहि ठुलो शहरमा  भएको नामूद कलेजको थियो। त्यस्तो लाईब्रेरी भन्दा त नभएको नै ठिक। एउटा बिषयको दुई देखि तिनवटा किताब, त्यहाँ देखि बाहेक भनेको दैनिक पत्रिका मात्र। अनि कहाँ पाउनु त्यस्तो ठाउँमा आफुलाई चाहिने किताब। त्यहाँको coordinator लाई भन्दा, सधैं एउटै  जवाफ आउंथ्यो,"किताब त reference को लागि हो नि। २ - ३ वटा भए पुगिहाल्छ, कहाँ लाईब्रेरीमा dependent भएर हुन्छ र"। त्यहि बेलाको झ्वाँक होला अहिले सम्म म मा रहेको।

खासमा मैले जाने सम्म टाढा टाढा सम्म मेरो कोही पनि नातेदार छैन जसले नेपाली साहित्यमा केहि योगदान गरेको होस् , अब अंग्रेजीको त कुरै नगरौं, हुन त मैले नै के पो गरेको छु र। अहिले सम्म मैले गरेको भनेको, पढाई तुर्याएर जागिर खाएको हो। जागिर पनि यस्तो नौटंकी ढंगको परेको छ। हुन त बिषयगत जागिर नै हो, तर आफु परें Marketing पढेको, जागिर छ Treasury भन्ने बिभाग, जहाँ अंक र नम्बर बाहेक केहि भए त मरीजाउँ। यहि झोंकमा एक दिन सेन्ट ज़ेविएर्स क्याम्पसमा अंग्रेजीमा एम ए को भर्ना खुलेको देखेर फारम लिन गएँ। अलि अलि मात्र खुशी भएको थिईन त्यो दिन, बल्ल आफुलाई शोख लागेको बिषय पढ्ने मौका मिल्यो भनेर। Entrance Exam दिएँ, र त्यसमा दोस्रो भएको रहेछु। पहिलो  त जिन्दगीमा म एक पल्ट मात्र भएको छु, आफ्नो आमा बाउको पहिलो सन्तान ( पहिलो भने पनि भयो, अन्तिम भने पनि भयो) त्यस बाहेक मेरो पहिलो भएको भनेर धक्कु लगाउने कुरा नै केही पनि छैन। जाँच पास भएपछि, अन्तरवार्तामा, बि ए मा अंग्रेजी मेजर लिएको हुनु पर्छ भनेपछि म खंग्ग्रंग भएँ तर जे भए पनि बि ए अंग्रेजी मेजरहरुको भीडमा दोस्रो त भएको थिएँ भनेर चित्त बुझाएँ।


Nishil
18/09/2012

Monday, September 17, 2012

पहिलो प्रयास
कहिले कहीं सारो सकस पर्छ । खै के - के कुराले चित्त बुझ्दैन। कसैलाई भनौ भने त्यस्तो ठुलो कुरा पनि हुँदैन, कसैलाई नभनी बसौं आफैलाई  गाह्रो। लौ जा त ! भनेर आज एउटा ब्लग खोलें। खोल्ने बेलामा त मा पनि कत्ति न ठुलो लेखक हूँ , मैले लेखेको सबैले पढ्छन भन्ने लाग्यो। बिहान-बिहान कान्तिपुरमा ह्रस्व दीर्घ पनि नमिलाउने र जुन मन लग्यो त्यहि (स, श, ष) लगाएर लेख्ने पत्रकार  भन्दा त राम्रै लेख्छु भन्ने लागेको थियो। अब लेख्न सुरु गर्ने बेलामा के लेख्ने भन्ने सोच्दा सोच्दै अलि अलि भएको कपाल पनि झर्ला जस्तो छ।

खासमा मैले ब्लग खोलेको कारण चाहिँ मनमा लागेको सबै कुरा यहिँ खन्याउछु भनेर हो। त्यो facebook मा कति झुण्डिनु? लेखेको कुरा दुई चार जनाले लाईक त गर्छन तर बाँकीले चाहिँ, "यो कति सारो बाठो हुनु परेको ... जान्नु तान्नु केहि छैन" पनि भन्छन कि जस्तो लाग्छ।  खुब सिनेमा हेर्नुपर्ने मलाई, दुई - चार वोटा सिनेमाको review पनि लेखिटोपल्छु जस्तो लाग्यो। यहाँ लेखें भने, लेखे जस्तो पनि हुने, Internet मा posted छ भन्ने पनि लाग्ने, र कसैको timeline मा टुप्लुक्क पनि नझुल्किने। हुन त एक आध पल्ट यो ब्लगको लिंक पनि facebook मा त राख्छु होला, तर लिंक राख्दा पढ्ने इच्छा भएकोहरुले मात्र हेर्छन, बाठो भै टोपल्छ भन्नेहरुले त पक्कै पनि हेर्दैनन्। यसको प्रचार गरिन भने मेरो गीत जस्तै हुन्छ। एक जमानामा, गीत लेख्ने भूत चढेको थियो मलाई। एउटा diary को आधा जति त गीत लेखें होला। एउटा गीतमा संगीत पनि भरियो (संगीत: सुगम पोखरेल), रेकर्ड पनि भयो, बजारमा पनि आयो। आजको दिनमा त्यो गीत कि उज्ज्वल भण्डारी (सो गीतको गायक) कि म संग मात्र छ होला। उ बिचराले पनि पहिलो पल्ट एल्बम निकालेको म बिचराको पनि पहिलो पल्ट गीत कसैले गाएको। न त उ नै गायकमा स्थापित हुन सक्यो, न त म नै गीतकार भएर चल्न सकें।

यो लेख्दा पनि मेरो ब्लग हेर्ने मान्छे हुन्छन, पढ्छन जस्तो त लागेको छैन। त्यसमाथि मैले नेपालीमा लेखेको। अंग्रेजीमा त दुई चार पन्ना लेख्न सक्छु जस्तो लाग्छ तर एघार  कक्षा  सकाएपछि नेपालीमा आफ्नो नाम बाहेक केही लेखेको छैन। लेख्न सुरु गर्दा त मलाई आउने सबै कुरा भरिभण्ड पारेर लेख्छु भन्ने सोचेको थिए। जब लेख्छु भनेर keyboard मा औंला चलाउन शुरु गरे, तब मैले सोच्न थालें," मलाई के चाहिं आउँछ?" Internet को दुनियाँ त ठुलो छ, साह्रै ठुलो। यसमा मलाई आउने कुरा खोज्न धौ - धौ पर्यो। अहिले सम्म आउँछ भनेर शान-पट्टि दिंदै बसेको कुराहरु त सबैलाई थाहा छ जस्तो लाग्यो। फेरी मलाई जति आउँछ त्यति नै मात्र लेख्ने हो भने मेरो कुरा किन पढ्नु, मैले लेखौनऄ नौ࠰ࠤࠌ࠭ॄ᠐ ࠕी࠴࠾को expert हरुको त ताँती नै छ होला नि।

यति सकुन्जेल सम्म मैले आँट त मारेको छैन तर पनि मेरो सपना भनेको यो ब्लगलाई जीवित राख्नु हो। जसरी  मैले पहिलो Novel, Sydney Sheldon को A Stranger in the Mirror पढेपछि सोचेको थिए, "म चालिसको हुँदा सम्म घरमा सानो तिनो लाइब्रेरी बनाउँछु।" त्यो सपना अहिले सम्म चालु छ। घरमा करिब-करिब पचास त काटे होला किताबको संख्या। त्यहि सपनाको आड, भरोसा र पागलपनमा यो अर्को सपना देखेको छु, मेरो ब्लगलाई  जिउँदो राख्ने। हुन त मेरो बाले यो पढ्नु भयो भने, " लु छोरा तँ लेख्न छोड्दै नछोड" भन्नुहुन्छ, बाको नजरमा त कहाँ म सानोतिनो मान्छे हो र।  तर मेरो आफ्नो प्रयासमा म कहाँ सम्म पुग्छु हेरौं।

Nishil
17/09/2012