Wednesday, May 22, 2019

डल्लेश्वर

"जिम" जाने लहड कुनै न कुनै अवस्था मा सबैलाई एकपल्ट लागेकै हुन्छ।  देखासिकीमा होस् या त मोटोपनले गाँजेर अथवा अलि स्वस्थ बसौं भन्ने चाहना होस् हामी एक न एक पल्ट छिर्छौँ नै।  मेरो घटना पनि यी माथि मध्येकै एक हो। बिहान उठेर खाना खायो अनि दिनभरि कार्यालयमा बस्यो बेलुका घर फर्कियो खाना खायो अनि सुत्यो। यही नै थियो दिनचर्या। शरीरमा परिश्रम हुने भनेको त्यही खप्परको मात्र हो, भेजा फ्राई गर्ने।

यही दिनचर्या चल्दै जाँदा एक दिन घरमा टि-शर्ट लगाउने क्रममा ऐना हेरें अनि देखें, त्यो टि-शर्ट मुनिबाट चियाउँदै गरेको पेट।  खासै उमेर त खाएको थिईन, ३० को हाराहारी, यसैगरी पेट बढ्दै गयो भने के होला भन्ने सोच्न पुगें।  त्यसमाथि अनुवंशिक (Genetic) रुपमा मलाई मधुमेह (Diabeties) को खतरा र शारीरिक रुपमा निस्क्रिय हुँदा त्यसको खतरा झनै बढ्ने । फेरी ज्यान पनि यति नराम्रो गरि लागेको थियो के भन्नु र फुलेको भनेको पेट मात्र थियो। बाँकी ज्यानलाई पेट बढेको संग केहि मतलब नै नभए जसरी, पाखुरा लुखुरे अनि छाती कुखुरे।

हुन त एक बेला ज्यान बढाउने ध्याउन्न लागेर जिम छिरेको हो, धेरै पहिला, तर ६ महिना देखि मास्तिर एक दिन पनि टिकेको भए त मरिजाउँ। "जाउँ कि क्याहो म पनि जिमखाना" भन्ने गीत बाट प्रेरित भएर गएको उत्साह कति दिन पो टिक्थ्यो होला र।

कार्यालयका दुईजना भाईहरु त्यहि ज्यान बढाउने सुरमा थिए, जुन अवस्थामा म पहिलो पल्ट जिम गएको थिएँ, त्यहि अवस्थामा थिए। जाउँ न त उनीहरु संगै भनेर, मन मनै कम से कम छ महिना त जसै गरि टिक्छु भनेर अठोट गरें।  त्यतिन्जेल सम्म त  पेट अलि सम्मिन्छ होला भन्ने आस गरेर ९ इन्चीको बाहुबली पाखुरा र ३१-३२  इन्चीको चौडा छाती अनि पिल्टिक्क परेको पेट लिएर जिम छिरें।

ति दुई जना भाईहरुले छ - आठ महिना पछि साथ  छोडे तर खोई के ले हो पेट घटाउन ब्यायाम शुरु गरेको, पेट सम्म भए पछि ज्यान बनाउन  तिर लागें, फेरी ज्यान बनाउने नै भनेर शारीरिक सुगठन प्रतियोगितामा जाने गरी नै गरेको पनि होइन। त्यसको लागि न त परिश्रम नै पुग्छ न त खान्की नै अनि त्यो उमेर पनि छैन र रहर पनि छैन। 

आजको मितिमा, कम से कम छ महिनाको लागि जिम छिरेको म पाँचौ वर्ष कटेर छैठौं बर्षमा छु।  गए पछि पनि पिरलो कम हुने त होइन।  शुरुमा खान्की सिक्नु पर्ने।  यो खान हुने, यो नहुने, र यो चैं खानै पर्नेको फेहरिस्त।

यी सबै संग संगै साथी भाईहरुको कुरा पनि सुन्नु पर्ने।  कसैले गर्न छोडे पछि त फेरि मोटाइन्छ भन्छन्। नगर्दा चैं को दुब्लाको छ र ? कतिले कहिले सम्म गर्नु पर्छ भन्ने।  कहिले सम्म गर्नु भन्नलाई म को हो र ? जहिले सम्म जाँगर चल्छ त्यति बेला सम्म गर्ने हो।

येस्सो बेला मौकामा सेटारो हान्न पनि पछि पर्दैनन् साथी भाइहरु, हाफ बाहुलाको टि शर्ट लगाउँदा पाखुरा देखायो भन्ने देखि टन्न खाजा खाए पछि तेरो त पेट लागेछ भन्ने सम्म भए, मेरो चैं पेट देखिए मैले पाप नै गरे जस्तो।

ए साँची मेरो त नाम पनि छ, फलामका डल्ला उचाल्ने भएर , "डल्लेश्वर"।

Friday, May 3, 2019

हे भगवान!!!

हे भगवान!!! आपद् बिपद् परोस या अचम्मको कुनै कुरा थाहा पाइयोस् अथवा केहि भएको छैन येत्तिकै अनायास मुखबाट निस्किने शब्द हो यो। यो लेख्दा, मैले तपाईंको बिचार, आस्था, बिश्वासलाई खलल पुर्याउने आँट गरेको पनि होइन र त्यसमा प्रश्न उठाउन खोजेको पनि होइन।  धर्म पाप र भगवान को प्रत्येक स्वरुप आफु-आफुले नै निर्धारण गर्ने बिषय हो। यहाँ मैले आफुलाई लागेको कुरा ब्यक्त गर्न खोजेको मात्र बुझ्नुहोला न कि कसैको आस्थामा ठेस पुर्याउन। 
पहिला घोषित रूपमै भन्न चाहन्छु कि म भुमिका बांधीरहेको छु। तपाईंलाई इसाई र इस्लाम धर्ममा थोरै तिनो जानकारी होला। यी दुई धर्मको बढी बाहुल्यता भएकोले मैले भुमिकामा यी दुईको नाम लिएँ।  इसाई धर्ममा जिजस क्राइस्ट, जम्मा एकजना भगवान जो कुमारी आमा मेरीको कोखबाट जन्म लिएका थिए। एक दुईवटा अपवाद देशहरुलाई छोडेर संसारले नै उनको जीवनकालको वरिपरि घुमेको मिति प्रयोग गर्छौं। दिनहुँ प्रयोगको मामलामा उनी सर्बब्यापी हुन्।  
अब गरौँ इस्लामको कुरा, मैले बुझे अनुसार इस्लाममा अल्लाहको स्वरुप छैन जुन इसाई धर्ममा जिजस क्राइस्ट को छ।अझ इस्लाम मा पुजिने अल्लाह भनेको एउटा शब्द "अल्लाह" हो जुन उर्दु लिपिमा छ। अझै एक कदम अगाडी जाने हो भने अल्लाहबाट आउने "पैगाम" अर्थात् संदेश पनि उनको संदेशवाहक "पैगम्बर मोहम्मद " मार्फत आउँछ।  
अब भुमिका छोडेर म ठोस कुरामा आउँछु जसको लागी मैले यो भुमिका बाधें।  हिन्दु धर्म।  ४ वेद १८ पुराण र ति पुराण मार्फत उब्जिएका हजारौं कथाहरु। हिन्दु धर्मको सार, संछिप्त रुपमा भन्न सक्ने अवस्थामा म चाहीं छैन।  तपाईंसंग सात बार छन् र प्रत्येक बारको लागि एक जना भगवान तोकिएको छ, आइतबार सुर्य, सोमबार महादेव, मंगलबार गणेश, बुधबार............., बिहिबार बंगलामुखी (उनकै बराबरीकी कोही देवी), शुक्रबार सन्तोषी माता र शनिबार शनिस्चर देव। बुधबारलाई जानी बुझी खाली राखेको छु किनकी यो दिन तपाई आफुलाई मन लागेको ३३ करोड भगवान मध्ये कोहि एकको लागि ब्रत बस्न सक्नु हुन्छ अथवा ति भगवानको पुजा गर्न सक्नुहुन्छ (बुधबारका लागि कोहि तोकिएको छ भने माफ पाउँ, मलाई ज्ञात भएन) 
जति धेरै भगवान, उति धेरै औपचारिकता। गणेश भगवानलाई लड्डु चढाउनु पर्ने, हनुमानलाई तेल र देवीलाई त जिउंदै पशुपंछीको बलि दिनु पर्ने, अरु कुराले खुसि नै नहुने। फेरी भगवानको बिभाग पनि फरक फरक छ, भगवान ब्रम्हा सृष्टिकर्ता, भगवान महादेव संहारकर्ता, भगवान बिष्णु पालनहार। यी सबै भगवानहरु बीचमा इन्द्र देव छन् जसको काम वर्षा ल्याउने र सुरा संगै अप्सराहरूको नृत्य हेर्ने मात्र रहेको छ। बेला बेला धारा खोल्दिने अनि अरु बेला डान्स बारको मजा। पक्का पनि भुइँचालो बिभाग, सुनामी बिभाग, बर्ड फ्लु - स्वाइन फ्लु विभागका भगवानहरु पनि हुनु पर्ने हो। हामीले ३३ कोटीमा अन्वेषण गर्न बाँकी पो होला कि? 
अब यहि विभागीय बाँडफाँडको कुरामा मतभेद हेर्नुस्, सृष्टिकर्ता भगवानको मन्दिर चाहिं पुरा विश्वमा जम्मा एउटा अनि संहारकर्ता भगवानको चाहिं ठाउँ ठाउँमा छ, कतै शिर त कतै पाउ भनेर। अब मानिसले सिक्ने पनि यस्तैबाट हो, जसले तपाईंलाई हानी गर्न सक्छ, तपाईं त्यसैलाई खुसी पार्न तिर लाग्नुहुन्छ, जसले तपाईंलाई सृजेको छ उसको मन्दिर कहाँ छ धेरै जनाले भेउ पनि पाएको छैनन्।  
तपाईंले कुन भगवानलाई केन्द्रबिन्दुमा राख्ने भन्ने अर्को उल्झन हुन्छ। बिष्णु भगवानलाई केन्द्रबिन्दु मान्नुस् , तपाईं बैश्नव। कृष्ण भगवानलाई केन्द्रबिन्दु मान्नुस्, तपाईं कृष्ण प्रणामी अनि यहि केन्द्रबिन्दु अनुसार तपाईंले गर्न हुने, गर्न पाउने र गर्नै नहुने कुराहरुको फेहरिस्त अगाडी लाग्छ। यहाँ मान्ने नमान्ने भन्दा पनि ठुलो समस्या कसलाई मान्ने भन्ने छ। 
तपाईंहरुले श्री स्वस्थानी ब्रत कथा पढ्नु, सुन्नु भएको छ होला। यो कथामा मैले एउटा कुराको भेउ पाउन नसकेको भएर, "लौन बुझाइदिनुपर्यो" भनेर धेरै ठाउँमा याचना चढाएँ तर सुनुवाई भएन। मेरो मगजमा घुमेको कुरा, हामीले श्री स्वस्थानी ब्रत कथामा गोमा ब्राह्मणिले त्यो कथा पढेर असंख्य दुखबाट मुक्ति पाएको पढ्न पाउँछौं तर हामीले गोमा ब्राह्मणिको कथा पढ्छौं उनले पढेको चाहीं स्वस्थानीको कथा कता पाइन्छ त्यो पढौं न भनेको, अहँ, कसैले मद्दत गर्न सकेन।
एउटा ठुलो प्रश्न तेर्स्याउँछु ल! तपाईं धर्म गर्ने, मन्दिर जाने, किन गर्नु हुन्छ?  मरेपछि स्वर्ग पाइन्छ भनेर हो? होइन भने बाहिर मन्दिर बाहिर निस्केर त्यो धार्मिक विचार कता हराउँछ? र हो भने "मरे पछि त डोमै राजा" तपाईंले जे गरे पनि पाउने त त्यहि हो।  फेरी, जान्नु बुझ्नु परेन सुरु गर्यो टुप्पो न फेदको तर्क भन्नु हुन्छ होला। 
मेरो बिचारमा, धर्मै गर्नु छ भने कसैको कुभलो न चिताउनु धर्म हो, कसैलाई मद्धत गर्दा फेसबुकमा फोटो नहाली मद्धत गर्नुस्, त्यो धर्म हो।  मन मनै दम्भ द्वेष राखेर मन्दिर जाँदा मेरो पाप पखालिंदैन भने तपाईं को पनि पखालिंदैन। यो गीत ले खोजेको मान्छे तपाइँ हुनु हुन्छ? म त होइन," यार हमारी बात सुनो ऐसा एक इन्सान चुनो, जिसने पाप ना किया हो, जो पापी ना हो"||

Nishil

बाटामी गाड पडन्छ

चिया पकाउँदा, तपाईं चिनी हाल्नु हुन्छ कि राख्नु हुन्छ? यदि तपाईं पूर्व नेपालमा हुर्की बढी गर्नु भएको हो भने तपाईं चियामा चिनी हाल्नु हुन्छ, नत्र राख्नु हुन्छ।   पूर्व तिर राख्नु भनेको सम्हालेर कतै "राख्नु" लाई  मात्र बुझिन्छ।
यो एकै प्रकृतिको फरक भाषामा एउटा रमाइलो घटना घटेको छ मेरो। भर्खर भर्खर काठमाडौँ आएको थिएँ पढ्नलाई भनेर र प्रसंगवश मैले एक जना साथीलाई "भित्ती" को कुरा गरें। उसले मलाई भित्ती भनेको के हो भनेर सोध्यो।  मैले जानेको त भित्ती नै मात्र  थियो, त्यसको अर्को नाम न मलाई थाहा थियो न उसले नै बुझ्न सक्यो कि मैले केलाई भित्ती भनें भनेर।  मैले घरमा आएर भित्तीको अर्को नाम सोधें अनि थाहा पाएँ, पूर्व नेपाल देखि बाहेक त्यसलाई माउसुली भन्ने गर्दा रहेछन।
कसैले कसैलाई हात पात गरेको सुनाउनु परे, के भन्नु हुन्छ? फलानोले कति धेरै कुट्यो, पिट्यो अथवा हिर्कायो भन्नु हुन्छ होला। धेरै भने धुलाई दियो सम्म भन्नु हुन्छ।  हाम्रो भेगमा हुर्किएर हेर्नुस्, त्यो पिटाई खाने महानुभावले हाम्रो भेगमा "गोदाइ " खानु हुन्छ। चलन चल्तिमै बोलिने भाषामा कुटाइ पिटाइ भनेको गोदाइ हो।
अर्को एउटा शब्द छ जुन मैले पूर्व बाहेक कतै सुनेको छैन, सुनेको छैन भन्दा पनि यो अर्थ लाग्ने गरि सुनेको छैन।  तपाईं कहिले घुर्नु हुन्छ? सुतेको बेला? निदाउनु हुन्छ अनि ख्वारर ख्वारर घुर्नु हुन्छ।  अब तपाईंलाई म यसको अर्को ठेट प्रयोगको जानकारी दिन्छु जुन पूर्वमा मात्र उपलब्ध छ।  हामी फिर्ता हुने कुरालाई पनि घुर्ने भन्छौं, जस्तै कि , " बजारबाट कति बेला घुर्ने?" मैले पहिलो पटक जसलाई यो सुनाए त्यो मान्छे देखि लिएर अहिले सम्म पहिलो पल्ट सुन्ने मान्छे दङ्ग भएर नहासेको अपवाद पनि छैन।
काठमाडौँ आएर साथीलाई  पासा भन्न सिकें नत्र हामी साथीलाई लुङ्गा भनेर बोलाउने गर्थ्यौं।  नेवारीमा "पासा" भने जस्तै राई भाषामा "लुङ्गा"।
यदि तपाईंले पश्चिमाञ्चल तिर धेरै पाइला चाल्नु भएको छैन भने तपाईंलाई  "हैच" ले रनभुल्ल पार्ने निश्चित छ , किनकि म आफैं पनि रनभुल्लमा परेकै हो।  हामी पूर्वमा रहेछलाई "रछ" भनेर बोल्ने बानी भएकोहरुलाई त्यही कुरा ब्यक्त गर्न "हैच" चाहिने थाहा थिएन।
सुदुरपश्चिम तिर म आफैं पनि धेरै हिंडडुल गरेको छैन र थोरै तिनो साथी संगतिहरुले गर्दा त्यताको शब्दावलीको ज्ञान पनि धेरै छैन।  कक्षा ९- १० को महेन्द्र मालामा  ता.ना.शर्माको नियात्रा "घनघस्याको उकालो काट्दा" पढ्दा एउटा पश्चिमा शब्द छ जुन मैले बिर्सिन सकेको छैन "बाटामी गाड पडन्छ" अर्थात् बाटोमा खोला छ।  
Nishil