Friday, May 3, 2019

हे भगवान!!!

हे भगवान!!! आपद् बिपद् परोस या अचम्मको कुनै कुरा थाहा पाइयोस् अथवा केहि भएको छैन येत्तिकै अनायास मुखबाट निस्किने शब्द हो यो। यो लेख्दा, मैले तपाईंको बिचार, आस्था, बिश्वासलाई खलल पुर्याउने आँट गरेको पनि होइन र त्यसमा प्रश्न उठाउन खोजेको पनि होइन।  धर्म पाप र भगवान को प्रत्येक स्वरुप आफु-आफुले नै निर्धारण गर्ने बिषय हो। यहाँ मैले आफुलाई लागेको कुरा ब्यक्त गर्न खोजेको मात्र बुझ्नुहोला न कि कसैको आस्थामा ठेस पुर्याउन। 
पहिला घोषित रूपमै भन्न चाहन्छु कि म भुमिका बांधीरहेको छु। तपाईंलाई इसाई र इस्लाम धर्ममा थोरै तिनो जानकारी होला। यी दुई धर्मको बढी बाहुल्यता भएकोले मैले भुमिकामा यी दुईको नाम लिएँ।  इसाई धर्ममा जिजस क्राइस्ट, जम्मा एकजना भगवान जो कुमारी आमा मेरीको कोखबाट जन्म लिएका थिए। एक दुईवटा अपवाद देशहरुलाई छोडेर संसारले नै उनको जीवनकालको वरिपरि घुमेको मिति प्रयोग गर्छौं। दिनहुँ प्रयोगको मामलामा उनी सर्बब्यापी हुन्।  
अब गरौँ इस्लामको कुरा, मैले बुझे अनुसार इस्लाममा अल्लाहको स्वरुप छैन जुन इसाई धर्ममा जिजस क्राइस्ट को छ।अझ इस्लाम मा पुजिने अल्लाह भनेको एउटा शब्द "अल्लाह" हो जुन उर्दु लिपिमा छ। अझै एक कदम अगाडी जाने हो भने अल्लाहबाट आउने "पैगाम" अर्थात् संदेश पनि उनको संदेशवाहक "पैगम्बर मोहम्मद " मार्फत आउँछ।  
अब भुमिका छोडेर म ठोस कुरामा आउँछु जसको लागी मैले यो भुमिका बाधें।  हिन्दु धर्म।  ४ वेद १८ पुराण र ति पुराण मार्फत उब्जिएका हजारौं कथाहरु। हिन्दु धर्मको सार, संछिप्त रुपमा भन्न सक्ने अवस्थामा म चाहीं छैन।  तपाईंसंग सात बार छन् र प्रत्येक बारको लागि एक जना भगवान तोकिएको छ, आइतबार सुर्य, सोमबार महादेव, मंगलबार गणेश, बुधबार............., बिहिबार बंगलामुखी (उनकै बराबरीकी कोही देवी), शुक्रबार सन्तोषी माता र शनिबार शनिस्चर देव। बुधबारलाई जानी बुझी खाली राखेको छु किनकी यो दिन तपाई आफुलाई मन लागेको ३३ करोड भगवान मध्ये कोहि एकको लागि ब्रत बस्न सक्नु हुन्छ अथवा ति भगवानको पुजा गर्न सक्नुहुन्छ (बुधबारका लागि कोहि तोकिएको छ भने माफ पाउँ, मलाई ज्ञात भएन) 
जति धेरै भगवान, उति धेरै औपचारिकता। गणेश भगवानलाई लड्डु चढाउनु पर्ने, हनुमानलाई तेल र देवीलाई त जिउंदै पशुपंछीको बलि दिनु पर्ने, अरु कुराले खुसि नै नहुने। फेरी भगवानको बिभाग पनि फरक फरक छ, भगवान ब्रम्हा सृष्टिकर्ता, भगवान महादेव संहारकर्ता, भगवान बिष्णु पालनहार। यी सबै भगवानहरु बीचमा इन्द्र देव छन् जसको काम वर्षा ल्याउने र सुरा संगै अप्सराहरूको नृत्य हेर्ने मात्र रहेको छ। बेला बेला धारा खोल्दिने अनि अरु बेला डान्स बारको मजा। पक्का पनि भुइँचालो बिभाग, सुनामी बिभाग, बर्ड फ्लु - स्वाइन फ्लु विभागका भगवानहरु पनि हुनु पर्ने हो। हामीले ३३ कोटीमा अन्वेषण गर्न बाँकी पो होला कि? 
अब यहि विभागीय बाँडफाँडको कुरामा मतभेद हेर्नुस्, सृष्टिकर्ता भगवानको मन्दिर चाहिं पुरा विश्वमा जम्मा एउटा अनि संहारकर्ता भगवानको चाहिं ठाउँ ठाउँमा छ, कतै शिर त कतै पाउ भनेर। अब मानिसले सिक्ने पनि यस्तैबाट हो, जसले तपाईंलाई हानी गर्न सक्छ, तपाईं त्यसैलाई खुसी पार्न तिर लाग्नुहुन्छ, जसले तपाईंलाई सृजेको छ उसको मन्दिर कहाँ छ धेरै जनाले भेउ पनि पाएको छैनन्।  
तपाईंले कुन भगवानलाई केन्द्रबिन्दुमा राख्ने भन्ने अर्को उल्झन हुन्छ। बिष्णु भगवानलाई केन्द्रबिन्दु मान्नुस् , तपाईं बैश्नव। कृष्ण भगवानलाई केन्द्रबिन्दु मान्नुस्, तपाईं कृष्ण प्रणामी अनि यहि केन्द्रबिन्दु अनुसार तपाईंले गर्न हुने, गर्न पाउने र गर्नै नहुने कुराहरुको फेहरिस्त अगाडी लाग्छ। यहाँ मान्ने नमान्ने भन्दा पनि ठुलो समस्या कसलाई मान्ने भन्ने छ। 
तपाईंहरुले श्री स्वस्थानी ब्रत कथा पढ्नु, सुन्नु भएको छ होला। यो कथामा मैले एउटा कुराको भेउ पाउन नसकेको भएर, "लौन बुझाइदिनुपर्यो" भनेर धेरै ठाउँमा याचना चढाएँ तर सुनुवाई भएन। मेरो मगजमा घुमेको कुरा, हामीले श्री स्वस्थानी ब्रत कथामा गोमा ब्राह्मणिले त्यो कथा पढेर असंख्य दुखबाट मुक्ति पाएको पढ्न पाउँछौं तर हामीले गोमा ब्राह्मणिको कथा पढ्छौं उनले पढेको चाहीं स्वस्थानीको कथा कता पाइन्छ त्यो पढौं न भनेको, अहँ, कसैले मद्दत गर्न सकेन।
एउटा ठुलो प्रश्न तेर्स्याउँछु ल! तपाईं धर्म गर्ने, मन्दिर जाने, किन गर्नु हुन्छ?  मरेपछि स्वर्ग पाइन्छ भनेर हो? होइन भने बाहिर मन्दिर बाहिर निस्केर त्यो धार्मिक विचार कता हराउँछ? र हो भने "मरे पछि त डोमै राजा" तपाईंले जे गरे पनि पाउने त त्यहि हो।  फेरी, जान्नु बुझ्नु परेन सुरु गर्यो टुप्पो न फेदको तर्क भन्नु हुन्छ होला। 
मेरो बिचारमा, धर्मै गर्नु छ भने कसैको कुभलो न चिताउनु धर्म हो, कसैलाई मद्धत गर्दा फेसबुकमा फोटो नहाली मद्धत गर्नुस्, त्यो धर्म हो।  मन मनै दम्भ द्वेष राखेर मन्दिर जाँदा मेरो पाप पखालिंदैन भने तपाईं को पनि पखालिंदैन। यो गीत ले खोजेको मान्छे तपाइँ हुनु हुन्छ? म त होइन," यार हमारी बात सुनो ऐसा एक इन्सान चुनो, जिसने पाप ना किया हो, जो पापी ना हो"||

Nishil

No comments:

Post a Comment