फेसबुक महात्म्य
उहिले बाजेको पालाको कुरा के … हाम्रा बाजेहरू पल्लो मुलुक घुम्न गएको अरे (पल्लो मुलुक भनेको भारत)। त्यो बेला यो फेसबुक भन्ने जन्तु भएको भए क्या स्वादले फोटो हाल्थे होला है।
२००७ तिर हो जस्तो लाग्छ, मैले यसमा आफ्नो खाता खोलेको। त्यो बेला फेसबुके साथी त्यति थिएनन्, हुन त चलाउनेको संख्या नै धेरै थिएन। समय कति परिस्कृत हुँदै आयो भने, आजकल यो बिना त जीवन सम्भव नै छैन जस्तो पो देखिन थाल्यो। एउटा रमाइलो घटना याद आयो, कुरो चैं सुनेको हो है, शुरुमै भन्देको, एक जनालाई बैंकमा जागिर खान अन्तरवार्तामा बसेको बेला प्रश्न सोधेछन्, यो इन्टरनेट भनेको के हो भनेर, आलो काँचो भर्खरको ठिटोले जवाफ दिएछ, "फेसबुक" ।
त्यो बेला न त अहिले जस्तो डिजिटल क्यामेराको बिगबिगी थियो न त त्यो ट्यां टूं मात्र बज्ने मोवाइलमा क्यामेरा थियो, फेसबुकमा एउटा नयाँ फोटो हाल्न पाए त युद्ध जिते जस्तो हुन्थ्यो। न अहिले जस्तो Check in न Feeling के- के मात्र हो, सिधा सादा Status लेख्यो अनि छोड्यो। जमानामा छुट्टिएका साथी भेट्टाउने देखि लिएर को कहाँ के गर्दै छ भनेर सारा संसारको खबर आदान प्रदान गर्ने मध्यम बन्यो फेसबुक। लाइकको भारी देखि कमेन्टको ओइरो भनौं या म जस्तो मनलाग्दी लेखेर पोस्ट्याउनेको थलो भनौं सबैको साझा बिसौनी हाम्रो प्यारो फेसबुक।
अब कुरा गरौँ यसले लगाउने हैरानी। "मेरो प्यारो बुढा / बुढी तिमीलाई जन्मदिनको शुभकामना। आइ लोप यु।" Love वाला होइन Lop वाला चैं है। अब फेसबुकमा सुरुमा यो देख्दा त लाग्यो लौ !!! यी दुई बुढा बुढी कता छुट्टिएर बस्न थालेछन्, कुन चैं को सरुवा पो भन्यो कि जस्तो नि। भरे कुरो बुझ्दै जाँदा त संगै हुने रैछन् अनि यो संसारको अगाडी हिज्जे पनि नमिलेको I Lop You के का लागी हो, बुझ्नै गाह्रो पर्यो। अब जन्मदिन भन्ने त थाहा भयो , शुभकामना त अरुले पनि दिन शुरु गर्छन् नि।यी मध्ये कोही कोही महानुभाव हुनुहुन्छ जसलाई शुभकामना पनि दिनु पर्ने हुन्छ अनि बिचरालाई समयको सारै अभाव हुन्छ "Happy Birthday" मलाई यो टाइप गर्न ठ्याक्कै ३ सेकेन्ड लाग्यो, उहाँ संग त्यो समय पनि हुँदैन र HBD लेख्नु हुन्छ, यो हो नि त सेकेन्ड सेकेन्डको महत्व बुझेको मानिस, उहाँले त्यो बचेको २ सेकेन्डमा अति महत्वपुर्ण काम गरेर सक्नु हुन्छ।
विश्व वातावरण दिवस होस् या एड्स दिवस, नारी दिवसदेखि लिएर आमा बुवाको मुख हेर्ने दिन, सबै थाहा दिने थलो हो फेसबुक। अझ काग तिहारको दिन त कसको घरमा कतिवटा काग बस्छन्, त्यो सम्म थाहा हुन्छ हामीलाई। दशैंको बेला राताम्य निधारको फोटो अनि होलीको माहौलमा रंगीचंगी भित्ताहरु, यहि हो हाम्रो फेसबुक।
पहिला रिलवाला क्यामेरा हुँदा यादहरु कैद गर्न फोटो खिचिन्थ्यो, अचेल अरुलाई भोक लागेको, बेला मैले यो खाएँ भनेर भनेर पोस्ट्याउनलाई खिचिन्छ। अर्को एउटा फेसबुके वर्गको कुरा गरौँ है, Check in वर्ग, यी महानुभावहरुले कहाँ कतिबेला को संग बसेर के-के गर्नुभयो सबै थाहा हुन्छ। रेस्टुराँमा बसेर खाएको देखि सिनेमा हेर्न गएको अनि उहाँले त्यसमा कस्तो महसुस गर्नुभयो सम्पूर्ण कुराको हेक्का फेसबुक मार्फत हुन्छ त्यो पनि एक आध पटक होइन, प्रत्येक पटक। अनि त्यो ओठ चुच्चो सेल्फी कसरी बिर्सन सक्नु, ठ्याक्क फोनलाई अलि माथि लग्यो, ओठ चुच्चो पार्यो अनि 'खिचिक्क", तयार भयो एउटा नयाँ फोटो फेसबुकमा हाल्नलाई, आफ्नो त सेल्फी सुहाउँदो अनुहार नभएर होला, सेल्फी क्यामेरा खोल्यो कि अर्कै को हो को जस्तो देखिन्छ ।
अब यो संसारमा सबैको जोडी त ठ्याकै सुहाउने हुँदैन नि, बिवाह वर्षगांठ , Anniversary क्या ! (अलि नेपाली कमजोर भएकोहरुलाई यो अंग्रेजी चैं ) आउन पाएको हुँदैन, एउटा जोडीको फोटो पोस्टिन्छ, क्या सुहाएको जोडी अथवा यस्तै यस्तै केही गज्जबका चिजहरुले जोडीको बयान गरेर। अब त्यो जोडी हाँस र कागको जस्तो होस् या साच्चैं मिलेको होस त्यो चैं आफैं विचार गर्नु पर्ने हुन्छ तर पनि हाम्रो बर्णन गर्ने क्षमतालाई हजार जिब्रो भएको शेष नागले पनि भेट्न हम्मे हम्मे पर्छ।
यसका आफ्नै अलि जटिल सामाजिक समस्याहरु पनि छन्, जसलाई मैले भन्दा पनि प्रहरीको Cyber Crime Cell ले हेर्दा नै उचित होला तर हामी सोझा साझा समय मात्र कटाएर साथी, भाई, बहिनी तथा आफ्नो वरिपरि या सात समुन्द्र पारी नै किन नहोस, सबैको ठाउँ, थात थलो, रहन सहन हेर्न पाउँदा चैं खुशी नै लाग्छ लाग्छ।
लेख्दा लेख्दै अलि धेरै पो भयो कि जस्तो लाग्यो, आजलाई, जय होस् फेसबुकको।
Nishil
23/3/2017
Hajar jibra bha ka seesh nag le ta barnan garna nasake ko....
ReplyDeleteHajar jibra bha ka seesh nag le ta barnan garna nasake ko....
ReplyDeleteHehehe
ReplyDelete