Wednesday, May 22, 2019

डल्लेश्वर

"जिम" जाने लहड कुनै न कुनै अवस्था मा सबैलाई एकपल्ट लागेकै हुन्छ।  देखासिकीमा होस् या त मोटोपनले गाँजेर अथवा अलि स्वस्थ बसौं भन्ने चाहना होस् हामी एक न एक पल्ट छिर्छौँ नै।  मेरो घटना पनि यी माथि मध्येकै एक हो। बिहान उठेर खाना खायो अनि दिनभरि कार्यालयमा बस्यो बेलुका घर फर्कियो खाना खायो अनि सुत्यो। यही नै थियो दिनचर्या। शरीरमा परिश्रम हुने भनेको त्यही खप्परको मात्र हो, भेजा फ्राई गर्ने।

यही दिनचर्या चल्दै जाँदा एक दिन घरमा टि-शर्ट लगाउने क्रममा ऐना हेरें अनि देखें, त्यो टि-शर्ट मुनिबाट चियाउँदै गरेको पेट।  खासै उमेर त खाएको थिईन, ३० को हाराहारी, यसैगरी पेट बढ्दै गयो भने के होला भन्ने सोच्न पुगें।  त्यसमाथि अनुवंशिक (Genetic) रुपमा मलाई मधुमेह (Diabeties) को खतरा र शारीरिक रुपमा निस्क्रिय हुँदा त्यसको खतरा झनै बढ्ने । फेरी ज्यान पनि यति नराम्रो गरि लागेको थियो के भन्नु र फुलेको भनेको पेट मात्र थियो। बाँकी ज्यानलाई पेट बढेको संग केहि मतलब नै नभए जसरी, पाखुरा लुखुरे अनि छाती कुखुरे।

हुन त एक बेला ज्यान बढाउने ध्याउन्न लागेर जिम छिरेको हो, धेरै पहिला, तर ६ महिना देखि मास्तिर एक दिन पनि टिकेको भए त मरिजाउँ। "जाउँ कि क्याहो म पनि जिमखाना" भन्ने गीत बाट प्रेरित भएर गएको उत्साह कति दिन पो टिक्थ्यो होला र।

कार्यालयका दुईजना भाईहरु त्यहि ज्यान बढाउने सुरमा थिए, जुन अवस्थामा म पहिलो पल्ट जिम गएको थिएँ, त्यहि अवस्थामा थिए। जाउँ न त उनीहरु संगै भनेर, मन मनै कम से कम छ महिना त जसै गरि टिक्छु भनेर अठोट गरें।  त्यतिन्जेल सम्म त  पेट अलि सम्मिन्छ होला भन्ने आस गरेर ९ इन्चीको बाहुबली पाखुरा र ३१-३२  इन्चीको चौडा छाती अनि पिल्टिक्क परेको पेट लिएर जिम छिरें।

ति दुई जना भाईहरुले छ - आठ महिना पछि साथ  छोडे तर खोई के ले हो पेट घटाउन ब्यायाम शुरु गरेको, पेट सम्म भए पछि ज्यान बनाउन  तिर लागें, फेरी ज्यान बनाउने नै भनेर शारीरिक सुगठन प्रतियोगितामा जाने गरी नै गरेको पनि होइन। त्यसको लागि न त परिश्रम नै पुग्छ न त खान्की नै अनि त्यो उमेर पनि छैन र रहर पनि छैन। 

आजको मितिमा, कम से कम छ महिनाको लागि जिम छिरेको म पाँचौ वर्ष कटेर छैठौं बर्षमा छु।  गए पछि पनि पिरलो कम हुने त होइन।  शुरुमा खान्की सिक्नु पर्ने।  यो खान हुने, यो नहुने, र यो चैं खानै पर्नेको फेहरिस्त।

यी सबै संग संगै साथी भाईहरुको कुरा पनि सुन्नु पर्ने।  कसैले गर्न छोडे पछि त फेरि मोटाइन्छ भन्छन्। नगर्दा चैं को दुब्लाको छ र ? कतिले कहिले सम्म गर्नु पर्छ भन्ने।  कहिले सम्म गर्नु भन्नलाई म को हो र ? जहिले सम्म जाँगर चल्छ त्यति बेला सम्म गर्ने हो।

येस्सो बेला मौकामा सेटारो हान्न पनि पछि पर्दैनन् साथी भाइहरु, हाफ बाहुलाको टि शर्ट लगाउँदा पाखुरा देखायो भन्ने देखि टन्न खाजा खाए पछि तेरो त पेट लागेछ भन्ने सम्म भए, मेरो चैं पेट देखिए मैले पाप नै गरे जस्तो।

ए साँची मेरो त नाम पनि छ, फलामका डल्ला उचाल्ने भएर , "डल्लेश्वर"।

Friday, May 3, 2019

हे भगवान!!!

हे भगवान!!! आपद् बिपद् परोस या अचम्मको कुनै कुरा थाहा पाइयोस् अथवा केहि भएको छैन येत्तिकै अनायास मुखबाट निस्किने शब्द हो यो। यो लेख्दा, मैले तपाईंको बिचार, आस्था, बिश्वासलाई खलल पुर्याउने आँट गरेको पनि होइन र त्यसमा प्रश्न उठाउन खोजेको पनि होइन।  धर्म पाप र भगवान को प्रत्येक स्वरुप आफु-आफुले नै निर्धारण गर्ने बिषय हो। यहाँ मैले आफुलाई लागेको कुरा ब्यक्त गर्न खोजेको मात्र बुझ्नुहोला न कि कसैको आस्थामा ठेस पुर्याउन। 
पहिला घोषित रूपमै भन्न चाहन्छु कि म भुमिका बांधीरहेको छु। तपाईंलाई इसाई र इस्लाम धर्ममा थोरै तिनो जानकारी होला। यी दुई धर्मको बढी बाहुल्यता भएकोले मैले भुमिकामा यी दुईको नाम लिएँ।  इसाई धर्ममा जिजस क्राइस्ट, जम्मा एकजना भगवान जो कुमारी आमा मेरीको कोखबाट जन्म लिएका थिए। एक दुईवटा अपवाद देशहरुलाई छोडेर संसारले नै उनको जीवनकालको वरिपरि घुमेको मिति प्रयोग गर्छौं। दिनहुँ प्रयोगको मामलामा उनी सर्बब्यापी हुन्।  
अब गरौँ इस्लामको कुरा, मैले बुझे अनुसार इस्लाममा अल्लाहको स्वरुप छैन जुन इसाई धर्ममा जिजस क्राइस्ट को छ।अझ इस्लाम मा पुजिने अल्लाह भनेको एउटा शब्द "अल्लाह" हो जुन उर्दु लिपिमा छ। अझै एक कदम अगाडी जाने हो भने अल्लाहबाट आउने "पैगाम" अर्थात् संदेश पनि उनको संदेशवाहक "पैगम्बर मोहम्मद " मार्फत आउँछ।  
अब भुमिका छोडेर म ठोस कुरामा आउँछु जसको लागी मैले यो भुमिका बाधें।  हिन्दु धर्म।  ४ वेद १८ पुराण र ति पुराण मार्फत उब्जिएका हजारौं कथाहरु। हिन्दु धर्मको सार, संछिप्त रुपमा भन्न सक्ने अवस्थामा म चाहीं छैन।  तपाईंसंग सात बार छन् र प्रत्येक बारको लागि एक जना भगवान तोकिएको छ, आइतबार सुर्य, सोमबार महादेव, मंगलबार गणेश, बुधबार............., बिहिबार बंगलामुखी (उनकै बराबरीकी कोही देवी), शुक्रबार सन्तोषी माता र शनिबार शनिस्चर देव। बुधबारलाई जानी बुझी खाली राखेको छु किनकी यो दिन तपाई आफुलाई मन लागेको ३३ करोड भगवान मध्ये कोहि एकको लागि ब्रत बस्न सक्नु हुन्छ अथवा ति भगवानको पुजा गर्न सक्नुहुन्छ (बुधबारका लागि कोहि तोकिएको छ भने माफ पाउँ, मलाई ज्ञात भएन) 
जति धेरै भगवान, उति धेरै औपचारिकता। गणेश भगवानलाई लड्डु चढाउनु पर्ने, हनुमानलाई तेल र देवीलाई त जिउंदै पशुपंछीको बलि दिनु पर्ने, अरु कुराले खुसि नै नहुने। फेरी भगवानको बिभाग पनि फरक फरक छ, भगवान ब्रम्हा सृष्टिकर्ता, भगवान महादेव संहारकर्ता, भगवान बिष्णु पालनहार। यी सबै भगवानहरु बीचमा इन्द्र देव छन् जसको काम वर्षा ल्याउने र सुरा संगै अप्सराहरूको नृत्य हेर्ने मात्र रहेको छ। बेला बेला धारा खोल्दिने अनि अरु बेला डान्स बारको मजा। पक्का पनि भुइँचालो बिभाग, सुनामी बिभाग, बर्ड फ्लु - स्वाइन फ्लु विभागका भगवानहरु पनि हुनु पर्ने हो। हामीले ३३ कोटीमा अन्वेषण गर्न बाँकी पो होला कि? 
अब यहि विभागीय बाँडफाँडको कुरामा मतभेद हेर्नुस्, सृष्टिकर्ता भगवानको मन्दिर चाहिं पुरा विश्वमा जम्मा एउटा अनि संहारकर्ता भगवानको चाहिं ठाउँ ठाउँमा छ, कतै शिर त कतै पाउ भनेर। अब मानिसले सिक्ने पनि यस्तैबाट हो, जसले तपाईंलाई हानी गर्न सक्छ, तपाईं त्यसैलाई खुसी पार्न तिर लाग्नुहुन्छ, जसले तपाईंलाई सृजेको छ उसको मन्दिर कहाँ छ धेरै जनाले भेउ पनि पाएको छैनन्।  
तपाईंले कुन भगवानलाई केन्द्रबिन्दुमा राख्ने भन्ने अर्को उल्झन हुन्छ। बिष्णु भगवानलाई केन्द्रबिन्दु मान्नुस् , तपाईं बैश्नव। कृष्ण भगवानलाई केन्द्रबिन्दु मान्नुस्, तपाईं कृष्ण प्रणामी अनि यहि केन्द्रबिन्दु अनुसार तपाईंले गर्न हुने, गर्न पाउने र गर्नै नहुने कुराहरुको फेहरिस्त अगाडी लाग्छ। यहाँ मान्ने नमान्ने भन्दा पनि ठुलो समस्या कसलाई मान्ने भन्ने छ। 
तपाईंहरुले श्री स्वस्थानी ब्रत कथा पढ्नु, सुन्नु भएको छ होला। यो कथामा मैले एउटा कुराको भेउ पाउन नसकेको भएर, "लौन बुझाइदिनुपर्यो" भनेर धेरै ठाउँमा याचना चढाएँ तर सुनुवाई भएन। मेरो मगजमा घुमेको कुरा, हामीले श्री स्वस्थानी ब्रत कथामा गोमा ब्राह्मणिले त्यो कथा पढेर असंख्य दुखबाट मुक्ति पाएको पढ्न पाउँछौं तर हामीले गोमा ब्राह्मणिको कथा पढ्छौं उनले पढेको चाहीं स्वस्थानीको कथा कता पाइन्छ त्यो पढौं न भनेको, अहँ, कसैले मद्दत गर्न सकेन।
एउटा ठुलो प्रश्न तेर्स्याउँछु ल! तपाईं धर्म गर्ने, मन्दिर जाने, किन गर्नु हुन्छ?  मरेपछि स्वर्ग पाइन्छ भनेर हो? होइन भने बाहिर मन्दिर बाहिर निस्केर त्यो धार्मिक विचार कता हराउँछ? र हो भने "मरे पछि त डोमै राजा" तपाईंले जे गरे पनि पाउने त त्यहि हो।  फेरी, जान्नु बुझ्नु परेन सुरु गर्यो टुप्पो न फेदको तर्क भन्नु हुन्छ होला। 
मेरो बिचारमा, धर्मै गर्नु छ भने कसैको कुभलो न चिताउनु धर्म हो, कसैलाई मद्धत गर्दा फेसबुकमा फोटो नहाली मद्धत गर्नुस्, त्यो धर्म हो।  मन मनै दम्भ द्वेष राखेर मन्दिर जाँदा मेरो पाप पखालिंदैन भने तपाईं को पनि पखालिंदैन। यो गीत ले खोजेको मान्छे तपाइँ हुनु हुन्छ? म त होइन," यार हमारी बात सुनो ऐसा एक इन्सान चुनो, जिसने पाप ना किया हो, जो पापी ना हो"||

Nishil

बाटामी गाड पडन्छ

चिया पकाउँदा, तपाईं चिनी हाल्नु हुन्छ कि राख्नु हुन्छ? यदि तपाईं पूर्व नेपालमा हुर्की बढी गर्नु भएको हो भने तपाईं चियामा चिनी हाल्नु हुन्छ, नत्र राख्नु हुन्छ।   पूर्व तिर राख्नु भनेको सम्हालेर कतै "राख्नु" लाई  मात्र बुझिन्छ।
यो एकै प्रकृतिको फरक भाषामा एउटा रमाइलो घटना घटेको छ मेरो। भर्खर भर्खर काठमाडौँ आएको थिएँ पढ्नलाई भनेर र प्रसंगवश मैले एक जना साथीलाई "भित्ती" को कुरा गरें। उसले मलाई भित्ती भनेको के हो भनेर सोध्यो।  मैले जानेको त भित्ती नै मात्र  थियो, त्यसको अर्को नाम न मलाई थाहा थियो न उसले नै बुझ्न सक्यो कि मैले केलाई भित्ती भनें भनेर।  मैले घरमा आएर भित्तीको अर्को नाम सोधें अनि थाहा पाएँ, पूर्व नेपाल देखि बाहेक त्यसलाई माउसुली भन्ने गर्दा रहेछन।
कसैले कसैलाई हात पात गरेको सुनाउनु परे, के भन्नु हुन्छ? फलानोले कति धेरै कुट्यो, पिट्यो अथवा हिर्कायो भन्नु हुन्छ होला। धेरै भने धुलाई दियो सम्म भन्नु हुन्छ।  हाम्रो भेगमा हुर्किएर हेर्नुस्, त्यो पिटाई खाने महानुभावले हाम्रो भेगमा "गोदाइ " खानु हुन्छ। चलन चल्तिमै बोलिने भाषामा कुटाइ पिटाइ भनेको गोदाइ हो।
अर्को एउटा शब्द छ जुन मैले पूर्व बाहेक कतै सुनेको छैन, सुनेको छैन भन्दा पनि यो अर्थ लाग्ने गरि सुनेको छैन।  तपाईं कहिले घुर्नु हुन्छ? सुतेको बेला? निदाउनु हुन्छ अनि ख्वारर ख्वारर घुर्नु हुन्छ।  अब तपाईंलाई म यसको अर्को ठेट प्रयोगको जानकारी दिन्छु जुन पूर्वमा मात्र उपलब्ध छ।  हामी फिर्ता हुने कुरालाई पनि घुर्ने भन्छौं, जस्तै कि , " बजारबाट कति बेला घुर्ने?" मैले पहिलो पटक जसलाई यो सुनाए त्यो मान्छे देखि लिएर अहिले सम्म पहिलो पल्ट सुन्ने मान्छे दङ्ग भएर नहासेको अपवाद पनि छैन।
काठमाडौँ आएर साथीलाई  पासा भन्न सिकें नत्र हामी साथीलाई लुङ्गा भनेर बोलाउने गर्थ्यौं।  नेवारीमा "पासा" भने जस्तै राई भाषामा "लुङ्गा"।
यदि तपाईंले पश्चिमाञ्चल तिर धेरै पाइला चाल्नु भएको छैन भने तपाईंलाई  "हैच" ले रनभुल्ल पार्ने निश्चित छ , किनकि म आफैं पनि रनभुल्लमा परेकै हो।  हामी पूर्वमा रहेछलाई "रछ" भनेर बोल्ने बानी भएकोहरुलाई त्यही कुरा ब्यक्त गर्न "हैच" चाहिने थाहा थिएन।
सुदुरपश्चिम तिर म आफैं पनि धेरै हिंडडुल गरेको छैन र थोरै तिनो साथी संगतिहरुले गर्दा त्यताको शब्दावलीको ज्ञान पनि धेरै छैन।  कक्षा ९- १० को महेन्द्र मालामा  ता.ना.शर्माको नियात्रा "घनघस्याको उकालो काट्दा" पढ्दा एउटा पश्चिमा शब्द छ जुन मैले बिर्सिन सकेको छैन "बाटामी गाड पडन्छ" अर्थात् बाटोमा खोला छ।  
Nishil

Tuesday, February 19, 2019

ल्यांग

लास्टै ल्यांग गर्यो यार तेल्ले … आज भोलि धेरैजसोको जन जिब्रो मा झुन्डिएको शब्द। चिया गफमा एक जना दाईले मलाई सोध्नु भयो, यो ल्यांग भनेको चैं खासमा के हो? कसैले गिदी हान्छ नि तेल्लाई ल्यांग भन्छन भनेर उत्तर दिएँ मैले तर त्यहीं देखि यसबारे मलाई लेख्न कुत कुत लाग्यो । अंग्रेजीमा Slang शब्दहरु जन्मिए जस्तै नेपालीमा जन्मिन थालेको धेरै त भएको जस्तो छैन। तर चलन चल्तीमा अत्याधिक रूपमा प्रयोगमा आउन थालेको छ। 

केहि शब्दहरु अपभ्रंश भएर Slang को रूप लिएको छन् जस्तो कि सोल्टा, हाम्रो चलनचल्ती र संस्कृति अनुसार दाजुको सालो अथवा साली सोल्टी वा सोल्टिनी हो तर अचेल सोल्टी चाहीं स्त्रिलिंगी रुप जस्तो मानिएर सोल्टा उत्पन्न भएको छ, अरुले यो कति सजिलै पचाउँछन् थाहा छैन तर मलाई यो पचाउन एकदमै अफ्ठ्यारो लाग्छ। 

तपाईंलाई के लाग्छ, सबै भन्दा धेरै प्रयोग हुने Slang के होला? मेरो हिसाबमा ट्यापे हो जस्तो लाग्छ। लागुऔषध दुर्व्यसनी जस्तो परेको, हेर्दै ख्याउटे, खोपिल्टो परेको गाला, नितम्ब भन्दा तल कसिएको जिनको पाइन्ट, बेहिसाबको कपाल देख्नै नहुने, ट्यापे, हाम्रो अन्दाजले पनि ट्यापे भनेर सोच्छ।  

जे सुकै गर् मलाई लिनु दिनु केहि छैन भन्नु पर्यो भने हामी "बाल" दिन्छौं। यो खासमा भारतबाट आयातित Slang हो। बाल अर्थात् हिन्दीमा कपाल, मलाई कपाल बराबर पनि मतलब छैन भन्नु नै बाल दिनु हो। कुनै पनि कुराले उग्र रुप लियो अथवा केही कुरा पराकाष्ठमा पुग्यो भने बबाल हुन्छ। कसैले राम्रो खेल्यो भने, क्या बबाल खेल्यो, कुनै राम्रो चलचित्र छ भने ओह हो!!! बबाल छ त्यो फिल्म त।

ओह हो जिग्री, के छ खबर? जिग्री यानी मिल्ने साथी। तर जिग्री कसरी भन्ने सोच्नुहोला, जय होस् छिमेकी मुलुकको, जिगर अर्थात् कलेजो, हिन्दीमा र त्यहिँबाट जन्मियो जिग्री। हाम्रो तिर चाहिँ साथी मन, मुटुको नजिक हुन्छ, उता चाहिँ साथीको बासस्थान कलेजो नजिकै हुँदो रहेछ।

अचेल ल्यांग संग संगै भेजा पनि हुन्छ, पर्यायवाची Slangs हुन् भेजा र ल्यांग, र फेरी पनि भेजा यानी मस्तिष्क, हिन्दीमै। अर्का एक थरी हुन्छन जो बिल्ला हान्छन, यो कताबाट अपभ्रम्षित भयो पत्तो पाउन सकिएन किनकी यसको अर्थ गिज्याउनु अथवा कसैको मजाक उडाउनु हुन्छ र यसको ठ्याक्कै नेपाली शब्द गिल्ला हुन आउँछ।  

Slangs को पोको फुकाउँदै जाँदा शुरु मा उल्लेख गरेको "लास्टै" लाई त्यसै छोड्न मिलेन। अंग्रेजीको लास्ट यानी अन्तिम, अन्ततोगत्वा हुने त्यही हो भन्ने बुझाउने भएकोले नै प्रयोग मा आएको हुन सक्छ।  नेपालीमा अलि कमजोर भएकाहरुलाई अन्ततोगत्वा भनेको Ultimately हो।

पाखे, अलि दूर दराज गाउँबाट आएका शहरी भेष भुषासंग नमिल्दो आवरण अनि लवज भएकालाई शहरका "सम्भ्रान्त" भनाउँदा वर्गले भन्न रुचाउने शब्द। धेरै जसो डाँडा पाखा (आंकडामा नजाउँ) भएको देशमा पाखामा बसोबास गर्ने हामी सबै पाखे। यो अर्थमा हाम्रो राजधानी पनि पाखा नै भन्दा फरक पर्दैन, अलि ठुलो खाले पाखा र राजधानीबासी पनि पाखे।

बेला अनुसार आफूलाई अभिव्यक्त गर्नलाई यस्ता शब्दहरु आउंदै जाँदै गर्छन् र प्रभाव पार्ने कारकहरु जस्तो कि चलचित्र चाहे त्यो हिन्दी होस् या नेपाली, नयाँ पिढीको नयाँ शैलीलाई पनि नकार्न सकिंदैन तर जब सम्म यस्ता शब्दले अभिव्यक्तिमा मिठास दिन्छ र कसैको भावनामा प्रत्यक्ष चोट पुर्याउँदैन तब सम्म यी शब्दहरुले शब्दकोशमा ठाउँ नपाए पनि जन जिब्रोमा प्रशस्त ठाउँ पाइरख्ने छन्।  

Nishil
19/02/2019

Thursday, March 23, 2017

 फेसबुक महात्म्य
 
उहिले बाजेको पालाको कुरा के … हाम्रा बाजेहरू पल्लो मुलुक घुम्न गएको अरे (पल्लो मुलुक भनेको भारत)। त्यो बेला यो फेसबुक भन्ने जन्तु भएको भए क्या स्वादले फोटो हाल्थे होला है। 

२००७ तिर हो जस्तो  लाग्छ, मैले यसमा आफ्नो खाता खोलेको।  त्यो बेला फेसबुके साथी त्यति थिएनन्, हुन त चलाउनेको संख्या नै धेरै थिएन।  समय कति परिस्कृत हुँदै आयो भने, आजकल यो बिना त जीवन सम्भव नै छैन जस्तो पो देखिन थाल्यो।  एउटा रमाइलो घटना याद आयो, कुरो चैं सुनेको हो है, शुरुमै भन्देको, एक जनालाई बैंकमा जागिर खान अन्तरवार्तामा बसेको बेला प्रश्न सोधेछन्, यो इन्टरनेट भनेको के हो भनेर, आलो काँचो भर्खरको ठिटोले जवाफ दिएछ, "फेसबुक" ।

त्यो बेला न त अहिले जस्तो डिजिटल क्यामेराको बिगबिगी थियो न त त्यो ट्यां टूं मात्र बज्ने मोवाइलमा क्यामेरा थियो, फेसबुकमा एउटा नयाँ फोटो हाल्न पाए त युद्ध जिते जस्तो हुन्थ्यो।  न अहिले जस्तो Check in न Feeling के- के मात्र हो, सिधा सादा Status लेख्यो अनि छोड्यो।  जमानामा छुट्टिएका साथी भेट्टाउने देखि लिएर को कहाँ के गर्दै छ भनेर सारा संसारको खबर आदान प्रदान गर्ने मध्यम बन्यो फेसबुक।  लाइकको भारी देखि कमेन्टको ओइरो भनौं या म जस्तो मनलाग्दी लेखेर पोस्ट्याउनेको थलो भनौं सबैको साझा बिसौनी हाम्रो प्यारो फेसबुक।

अब कुरा गरौँ यसले लगाउने हैरानी।  "मेरो प्यारो बुढा / बुढी तिमीलाई जन्मदिनको शुभकामना। आइ लोप यु।"  Love वाला होइन Lop वाला चैं है। अब फेसबुकमा सुरुमा यो देख्दा त लाग्यो लौ !!! यी दुई बुढा बुढी कता छुट्टिएर बस्न थालेछन्, कुन चैं को सरुवा पो भन्यो कि जस्तो नि।  भरे कुरो बुझ्दै जाँदा त संगै हुने रैछन् अनि यो संसारको अगाडी हिज्जे पनि नमिलेको  I Lop You के का लागी हो, बुझ्नै गाह्रो पर्यो।  अब जन्मदिन भन्ने त थाहा भयो , शुभकामना त अरुले पनि दिन शुरु गर्छन् नि।यी मध्ये कोही कोही महानुभाव हुनुहुन्छ जसलाई शुभकामना पनि दिनु पर्ने हुन्छ अनि बिचरालाई समयको सारै अभाव हुन्छ "Happy Birthday" मलाई यो टाइप गर्न ठ्याक्कै ३ सेकेन्ड लाग्यो, उहाँ संग त्यो समय पनि हुँदैन र HBD लेख्नु हुन्छ, यो हो नि त सेकेन्ड सेकेन्डको महत्व बुझेको मानिस, उहाँले त्यो बचेको २ सेकेन्डमा अति महत्वपुर्ण काम गरेर सक्नु हुन्छ।

विश्व वातावरण दिवस होस् या एड्स दिवस, नारी दिवसदेखि लिएर आमा बुवाको मुख हेर्ने दिन, सबै थाहा दिने थलो हो फेसबुक।  अझ काग तिहारको दिन त कसको घरमा कतिवटा काग बस्छन्, त्यो सम्म थाहा हुन्छ हामीलाई। दशैंको बेला राताम्य निधारको फोटो अनि होलीको माहौलमा रंगीचंगी भित्ताहरु, यहि हो हाम्रो फेसबुक।

पहिला रिलवाला क्यामेरा हुँदा यादहरु कैद गर्न फोटो खिचिन्थ्यो, अचेल अरुलाई भोक लागेको, बेला मैले यो खाएँ भनेर भनेर पोस्ट्याउनलाई खिचिन्छ।  अर्को एउटा फेसबुके  वर्गको कुरा गरौँ है, Check in वर्ग, यी महानुभावहरुले  कहाँ कतिबेला को संग बसेर के-के गर्नुभयो सबै थाहा हुन्छ। रेस्टुराँमा बसेर खाएको देखि सिनेमा हेर्न गएको अनि उहाँले त्यसमा कस्तो महसुस गर्नुभयो सम्पूर्ण कुराको हेक्का फेसबुक मार्फत हुन्छ त्यो पनि एक आध पटक होइन, प्रत्येक पटक। अनि त्यो ओठ चुच्चो सेल्फी कसरी बिर्सन सक्नु, ठ्याक्क फोनलाई अलि माथि लग्यो, ओठ चुच्चो पार्यो अनि 'खिचिक्क", तयार भयो एउटा नयाँ फोटो फेसबुकमा हाल्नलाई, आफ्नो त सेल्फी सुहाउँदो अनुहार नभएर होला, सेल्फी क्यामेरा खोल्यो कि अर्कै को हो को जस्तो देखिन्छ ।  

अब यो संसारमा सबैको जोडी त ठ्याकै सुहाउने हुँदैन नि, बिवाह वर्षगांठ , Anniversary क्या ! (अलि नेपाली कमजोर भएकोहरुलाई यो अंग्रेजी चैं ) आउन पाएको हुँदैन, एउटा जोडीको  फोटो पोस्टिन्छ, क्या सुहाएको जोडी अथवा यस्तै यस्तै केही गज्जबका चिजहरुले जोडीको बयान गरेर। अब त्यो जोडी हाँस र कागको जस्तो होस् या साच्चैं मिलेको होस त्यो चैं आफैं विचार गर्नु पर्ने हुन्छ तर पनि हाम्रो बर्णन गर्ने क्षमतालाई हजार जिब्रो भएको शेष नागले पनि भेट्न हम्मे हम्मे पर्छ।

यसका आफ्नै अलि जटिल सामाजिक समस्याहरु पनि छन्,  जसलाई मैले भन्दा पनि प्रहरीको Cyber Crime Cell ले हेर्दा नै उचित होला तर हामी सोझा साझा समय मात्र कटाएर साथी, भाई, बहिनी तथा आफ्नो वरिपरि या सात समुन्द्र पारी नै किन नहोस, सबैको ठाउँ, थात थलो, रहन सहन हेर्न पाउँदा चैं खुशी नै लाग्छ लाग्छ।

लेख्दा लेख्दै अलि धेरै पो भयो कि जस्तो लाग्यो, आजलाई, जय होस् फेसबुकको। 

Nishil
23/3/2017

Sunday, March 19, 2017

 Buddha was born in Nepal


"Buddha was born in Nepal" कस्तो मज्जा आउँछ है भन्नलाई। यहि एउटा वाक्य हो जसले हाम्रो सार्वभौमिकता, राष्ट्रियता र हाम्रो नेपाली हुनुको गर्व एउटा मियोमा राखेको छ। यो वाक्यलाई कसैले छुसुक्क पनि दायाँ बायाँ गरोस त , नेपाली जनताले उसलाई माफ गर्ने छैनन्।  सिद्धार्थ गौतम नेपाली भू-भाग मा जन्मिएका हुन् र उनले बुद्धत्व भारतको गया मै प्राप्त गरेका हुन्, कसैको दुइमत छैन तर पनि  गर्व त जन्मेकै ठाउँ ले गर्नु पर्छ नि होइन र? कर्म गर्ने ठाउँ जाओस न  खोलै खोला, हामीलाई के को मतलब।
 
त्यस्तै अर्को राष्ट्रियता छुने गौरव छ हाम्रो, विश्वको सर्वोच्च शिखर सगरमाथा। विध्यालयमा कनि कुथी ८८४८ मिटर अग्लो भन्दै रटेको हाम्रो उत्तरी पर्खाल। कहिले मौसम परिवर्तन र कहिले भूइंचालोको आडमा, हामीले रटान मारेको मिटर हेरफेर हुने स्थिति पनि आए तर हामीले  अहिले सम्म अर्को अंक रट्नु परेको छैन। मौसमको मार र समयको बिशाल फेरोको बिचमा अझै पनि सगरमाथाले हामी नेपाली हुनुको नाक जोगाएर राखेको छ।
 
मलाई देश माथि गर्व हुने कुरा खोज्न धेरै बेर मगज खियाए पछि, उत्तरी भू-भागमा भएका मनोरम पहाडी तथा हिमाली भेगको याद आयो तर फेरी झल्याँस्स त्यहाँ जाने बाटो अनि त्यहाँको रहन सहनका साथै त्यहाँको विकटताको परिवेश सम्झें र एकछिन रनभुल्लमा परें, यो चिजलाई बरदान मान्ने कि श्राप। बरदान मानौं भने अहिले सम्म त्यस्तो ठाउँका बासिन्दा त उँभो लागेका छैनन्, अरुको के पो कुरा गर्नु र होइन श्राप हो भनौं भने देशद्रोही भन्लान कि भन्ने डर छ। 
 
ए साँच्चै, हामी त वीर गोर्खाली पनि पो हो त ! झन्नै अर्को पुरुषार्थ बिर्सेको मैले।  बेलायती लाहुरे, सिंगापुरे पुलिस, भारतीय सेना, ब्रुनाईको सुल्तानका  अंगरक्षकको फौज त कहाँ हाम्रो वीरता  बिना सम्भव हुन्छ र।  सेना त नेपालको पनि छ नि, तर कुनै बेला आफ्नै दाजु भाई संग लडाई गरेर बस्नेलाई कसले बहादुर भन्ला र खै।  बहादुर त ति पो हुन् त जो अर्काको देशमा गएर आफ्नो पुरुषार्थ देखाउंछन्।

बैंकमा बसेपछि कहिले कहीं देश को अर्थतन्त्रको बारेमा विचार आउँछ अनि सोच्छु, त्यो खाडीमा गएर ४०-५० डिग्रीको गर्मिमा पसिना चुहाएर रेमिट्यान्स पठाउनेको इज्जत त के गराई भयो र, विदेश बाट आउँदा पनि जाबो एउटा टि भी ल्याउँछन्, आफ्नो परिवारको लागि, त्यो पनि डोरीले बाँधेर ।   इज्जत त उनीहरुको हुन्छ, जो चिट्ठा र दुनियादारी गरेर मुलुकबाट पलायन हुन्छन् ।  कमसेकम, "ठुला" देश गएका छन्।  भाँडा माझे पनि अब्बल किसिमका प्रजातिको मान्छेहरुको जुठो सफा गरेका हुन् नि। उनीहरु त्यस्तो मुलुक गएका छन् जहाँबाट हामीलाई हेर्दा हामी केहि नजान्ने "डुकु" देखिन्छ।  फेरी आफ्नो देश छोडेर पलायन भए पछि I love Nepal भने पछि त, उनीहरु भन्दा ठुलो राष्ट्रभक्त हामी यहाँको धुलो, हिलो, मैलो खाएर बसेको "ग्वांच" नेपाली कहाँ हुन सक्छौं र।

कोही प्रति सिधै लक्ष्य गरेर लेखेको त होइन, तर कसैको आत्मसम्मान र राष्ट्रिय भावनाले ओतप्रोत चित्त दुख्यो भने चै म भित्री मुटु, भन्छन् नि "Bottom of my heart" बाट माफी माग्न चाहन्छु।

Nishil
19/03/2017

Tuesday, January 8, 2013

"खत्तम भो यार हाम्रो देश, केहि ठिक छैन।" चलन चल्तीमा  हामी सबैले कुनै न कुनै बेला यो वाक्य बोलेकै हुन्छौं। बाटोमा हिंड्दा खाल्डा खुल्डी भेटिन्छन। सडकमा थामी नसक्नु ट्राफिक जाम हुन्छ। अति आवश्यक परेको बेला झ्याप्प बत्ति जान्छ। बजारमा प्रत्येक पटक सामान किन्न जाँदा भाउ बढेको हुन्छ। जता हेरे पनि फोहोर लाग्ने कुरा प्रशस्तै छन्। र हाम्रो मुखमा यहि वाक्य फुत्त आउँछ।

यो खत्तमको जिम्मेवार को त? यसको उत्तर दिने प्रयास शायद धेरैले गरेको छैनौं होला। यो प्रश्न जसलाई सोधे पनि एउटा जवाफ "नेता" भन्ने आउँछ भन्नेमा मलाई पूर्ण विश्वास छ। तर के यो नेताले गर्दा मात्र भएको हो त? नेता छान्ने जिम्मा कसको? भोट दिने जिम्मेवारी कसको? मलाई सोध्ने हो भने हाम्रो देश खत्तम बनाउने सबैभन्दा ठुलो हात हामी आम नागरिकको हो।

नेपालमा खाद्यान्न सबैभन्दा महँगो भौगोलिक विकटता भएको ठाउँमा छ। सरकारले  खाद्य संस्थान मार्फत चामल त पुर्याउंछ, तर स्थानीयले पाउने बेलामा कुहिएर काम नलाग्ने भएको हुन्छ। बर्षमा छ महिना पनि खान नपुग्ने गरि उब्जनी हुने ठाउँमा  खेतीबाली उब्जाउने कोशिश हुन्छ र जुन ठाउँबाट पुरा देशले बर्ष भरि खान पुग्ने उब्जनी हुन्छ, त्यो ठाउँमा घर मात्र उब्जिन्छन्। शहरमा बसेर हामीले जति लाई खत्तम भन्छौं, त्यो भन्दा सयौं गुणा बढी खत्तम त हामीले देखेको पनि छैनौं, र त्यो हाम्रै देशको कुना कन्दरामा नै छ।

अचेल विदेश पलायन हुने प्रवृतिलाई हामी गर्व संग प्रकट गर्छौं। बैदेशिक रोजगारी भनेको त कम से कम आफ्नो देशमा काम नपाएर काम गर्न जाने को भीड हो। त्यो भीड त फर्केर घर नै आउँछ। त्यस देखि बाहेकको अर्को भीड छ जुन बाहिर गए पछि फर्किने नाम पनि लिंदैन। मलाई त्यो अर्को भीड संग साच्चैंको मत भेद छ। हुन त बाहिर जानेहरुले सोच्दा हुन्," यो मुला बाहिर जान पाएन अनि हल्ला गर्छ! त्यहाँ बसेर हाम्रो आरिस गर्ने त हो नि यसले।" तर यसरी गुँड नै फेर्नु भनेको चै मेरो हिसाबले "आफ्नी आमा बिरामी भएपछि अर्काकी आमालाई आफ्नी भन्नु जस्तो नै हो"। आफ्नो घर भत्कियो भने घर बनाउने कि अर्काको घरमा बसाईं सर्ने? जहाँ सुकै जाउन, र जति सुकै संभ्रान्त भएको देखाउन्, नेपालीलाई गुन्द्रुकको झोल र भात नै मन पर्छ, र यो जुन सुकै विदेश गए पनि परिवर्तन हुँदैन।

हो ... हाम्रो घर बिग्रिएको छ। यो सत्य हो, र यसलाई स्वीकार्न मलाई मन्जुर छ। हाम्रो घरमा भ्रष्टाचार ब्याप्त छ र हाम्रो घर हाम्रै कारणले बिग्रिएको हो। हामीले असल मान्छेलाई ठिक ठाउँमा पुर्याउन सकेनौं। बेठिक कामलाई घूस खुवाएर ठिक बनाउन पछि परेनौं।शक्तिको पहुँच भएको ठाउँबाट शक्तिको दुरुपयोग गर्न र गराउन पनि कहिले नामंजुर भएन।

जंगली प्रवृति भएकाहरुको हातमा डाडु पन्यु छ र हामी जनता पनि भेडा बाख्रा नै हो। पछाडीबाट लौरो लिएर नधपाई हुदै नहुने, गोठालो छैन भने हिड्न नहुने बाटो हिंडीहाल्ने। बाटोमा ट्राफिक प्रहरी छैन भने सडक पेटीबाट सवारी चलाउन हामीलाई धक लाग्दैन, भौतिक संरचना भत्काउन जोश आउँछ, आकाशे पुल मुनिबाट बाटो काट्नु त हाम्रो सामर्थ्य हो, बिदेशका सफा सडकको कुरा गर्दै गर्दा सडकमा प्याच्च थुक्नमा पनि कुनै ग्लानी छैन र यसै बिच हाम्रो मुखबाट सधैं झैँ दिब्य ज्ञानको वृष्टि हुन्छ "खत्तम भो यार हाम्रो देश, केहि ठिक छैन।"

Nishil
08/01/2013