Thursday, March 23, 2017

 फेसबुक महात्म्य
 
उहिले बाजेको पालाको कुरा के … हाम्रा बाजेहरू पल्लो मुलुक घुम्न गएको अरे (पल्लो मुलुक भनेको भारत)। त्यो बेला यो फेसबुक भन्ने जन्तु भएको भए क्या स्वादले फोटो हाल्थे होला है। 

२००७ तिर हो जस्तो  लाग्छ, मैले यसमा आफ्नो खाता खोलेको।  त्यो बेला फेसबुके साथी त्यति थिएनन्, हुन त चलाउनेको संख्या नै धेरै थिएन।  समय कति परिस्कृत हुँदै आयो भने, आजकल यो बिना त जीवन सम्भव नै छैन जस्तो पो देखिन थाल्यो।  एउटा रमाइलो घटना याद आयो, कुरो चैं सुनेको हो है, शुरुमै भन्देको, एक जनालाई बैंकमा जागिर खान अन्तरवार्तामा बसेको बेला प्रश्न सोधेछन्, यो इन्टरनेट भनेको के हो भनेर, आलो काँचो भर्खरको ठिटोले जवाफ दिएछ, "फेसबुक" ।

त्यो बेला न त अहिले जस्तो डिजिटल क्यामेराको बिगबिगी थियो न त त्यो ट्यां टूं मात्र बज्ने मोवाइलमा क्यामेरा थियो, फेसबुकमा एउटा नयाँ फोटो हाल्न पाए त युद्ध जिते जस्तो हुन्थ्यो।  न अहिले जस्तो Check in न Feeling के- के मात्र हो, सिधा सादा Status लेख्यो अनि छोड्यो।  जमानामा छुट्टिएका साथी भेट्टाउने देखि लिएर को कहाँ के गर्दै छ भनेर सारा संसारको खबर आदान प्रदान गर्ने मध्यम बन्यो फेसबुक।  लाइकको भारी देखि कमेन्टको ओइरो भनौं या म जस्तो मनलाग्दी लेखेर पोस्ट्याउनेको थलो भनौं सबैको साझा बिसौनी हाम्रो प्यारो फेसबुक।

अब कुरा गरौँ यसले लगाउने हैरानी।  "मेरो प्यारो बुढा / बुढी तिमीलाई जन्मदिनको शुभकामना। आइ लोप यु।"  Love वाला होइन Lop वाला चैं है। अब फेसबुकमा सुरुमा यो देख्दा त लाग्यो लौ !!! यी दुई बुढा बुढी कता छुट्टिएर बस्न थालेछन्, कुन चैं को सरुवा पो भन्यो कि जस्तो नि।  भरे कुरो बुझ्दै जाँदा त संगै हुने रैछन् अनि यो संसारको अगाडी हिज्जे पनि नमिलेको  I Lop You के का लागी हो, बुझ्नै गाह्रो पर्यो।  अब जन्मदिन भन्ने त थाहा भयो , शुभकामना त अरुले पनि दिन शुरु गर्छन् नि।यी मध्ये कोही कोही महानुभाव हुनुहुन्छ जसलाई शुभकामना पनि दिनु पर्ने हुन्छ अनि बिचरालाई समयको सारै अभाव हुन्छ "Happy Birthday" मलाई यो टाइप गर्न ठ्याक्कै ३ सेकेन्ड लाग्यो, उहाँ संग त्यो समय पनि हुँदैन र HBD लेख्नु हुन्छ, यो हो नि त सेकेन्ड सेकेन्डको महत्व बुझेको मानिस, उहाँले त्यो बचेको २ सेकेन्डमा अति महत्वपुर्ण काम गरेर सक्नु हुन्छ।

विश्व वातावरण दिवस होस् या एड्स दिवस, नारी दिवसदेखि लिएर आमा बुवाको मुख हेर्ने दिन, सबै थाहा दिने थलो हो फेसबुक।  अझ काग तिहारको दिन त कसको घरमा कतिवटा काग बस्छन्, त्यो सम्म थाहा हुन्छ हामीलाई। दशैंको बेला राताम्य निधारको फोटो अनि होलीको माहौलमा रंगीचंगी भित्ताहरु, यहि हो हाम्रो फेसबुक।

पहिला रिलवाला क्यामेरा हुँदा यादहरु कैद गर्न फोटो खिचिन्थ्यो, अचेल अरुलाई भोक लागेको, बेला मैले यो खाएँ भनेर भनेर पोस्ट्याउनलाई खिचिन्छ।  अर्को एउटा फेसबुके  वर्गको कुरा गरौँ है, Check in वर्ग, यी महानुभावहरुले  कहाँ कतिबेला को संग बसेर के-के गर्नुभयो सबै थाहा हुन्छ। रेस्टुराँमा बसेर खाएको देखि सिनेमा हेर्न गएको अनि उहाँले त्यसमा कस्तो महसुस गर्नुभयो सम्पूर्ण कुराको हेक्का फेसबुक मार्फत हुन्छ त्यो पनि एक आध पटक होइन, प्रत्येक पटक। अनि त्यो ओठ चुच्चो सेल्फी कसरी बिर्सन सक्नु, ठ्याक्क फोनलाई अलि माथि लग्यो, ओठ चुच्चो पार्यो अनि 'खिचिक्क", तयार भयो एउटा नयाँ फोटो फेसबुकमा हाल्नलाई, आफ्नो त सेल्फी सुहाउँदो अनुहार नभएर होला, सेल्फी क्यामेरा खोल्यो कि अर्कै को हो को जस्तो देखिन्छ ।  

अब यो संसारमा सबैको जोडी त ठ्याकै सुहाउने हुँदैन नि, बिवाह वर्षगांठ , Anniversary क्या ! (अलि नेपाली कमजोर भएकोहरुलाई यो अंग्रेजी चैं ) आउन पाएको हुँदैन, एउटा जोडीको  फोटो पोस्टिन्छ, क्या सुहाएको जोडी अथवा यस्तै यस्तै केही गज्जबका चिजहरुले जोडीको बयान गरेर। अब त्यो जोडी हाँस र कागको जस्तो होस् या साच्चैं मिलेको होस त्यो चैं आफैं विचार गर्नु पर्ने हुन्छ तर पनि हाम्रो बर्णन गर्ने क्षमतालाई हजार जिब्रो भएको शेष नागले पनि भेट्न हम्मे हम्मे पर्छ।

यसका आफ्नै अलि जटिल सामाजिक समस्याहरु पनि छन्,  जसलाई मैले भन्दा पनि प्रहरीको Cyber Crime Cell ले हेर्दा नै उचित होला तर हामी सोझा साझा समय मात्र कटाएर साथी, भाई, बहिनी तथा आफ्नो वरिपरि या सात समुन्द्र पारी नै किन नहोस, सबैको ठाउँ, थात थलो, रहन सहन हेर्न पाउँदा चैं खुशी नै लाग्छ लाग्छ।

लेख्दा लेख्दै अलि धेरै पो भयो कि जस्तो लाग्यो, आजलाई, जय होस् फेसबुकको। 

Nishil
23/3/2017

Sunday, March 19, 2017

 Buddha was born in Nepal


"Buddha was born in Nepal" कस्तो मज्जा आउँछ है भन्नलाई। यहि एउटा वाक्य हो जसले हाम्रो सार्वभौमिकता, राष्ट्रियता र हाम्रो नेपाली हुनुको गर्व एउटा मियोमा राखेको छ। यो वाक्यलाई कसैले छुसुक्क पनि दायाँ बायाँ गरोस त , नेपाली जनताले उसलाई माफ गर्ने छैनन्।  सिद्धार्थ गौतम नेपाली भू-भाग मा जन्मिएका हुन् र उनले बुद्धत्व भारतको गया मै प्राप्त गरेका हुन्, कसैको दुइमत छैन तर पनि  गर्व त जन्मेकै ठाउँ ले गर्नु पर्छ नि होइन र? कर्म गर्ने ठाउँ जाओस न  खोलै खोला, हामीलाई के को मतलब।
 
त्यस्तै अर्को राष्ट्रियता छुने गौरव छ हाम्रो, विश्वको सर्वोच्च शिखर सगरमाथा। विध्यालयमा कनि कुथी ८८४८ मिटर अग्लो भन्दै रटेको हाम्रो उत्तरी पर्खाल। कहिले मौसम परिवर्तन र कहिले भूइंचालोको आडमा, हामीले रटान मारेको मिटर हेरफेर हुने स्थिति पनि आए तर हामीले  अहिले सम्म अर्को अंक रट्नु परेको छैन। मौसमको मार र समयको बिशाल फेरोको बिचमा अझै पनि सगरमाथाले हामी नेपाली हुनुको नाक जोगाएर राखेको छ।
 
मलाई देश माथि गर्व हुने कुरा खोज्न धेरै बेर मगज खियाए पछि, उत्तरी भू-भागमा भएका मनोरम पहाडी तथा हिमाली भेगको याद आयो तर फेरी झल्याँस्स त्यहाँ जाने बाटो अनि त्यहाँको रहन सहनका साथै त्यहाँको विकटताको परिवेश सम्झें र एकछिन रनभुल्लमा परें, यो चिजलाई बरदान मान्ने कि श्राप। बरदान मानौं भने अहिले सम्म त्यस्तो ठाउँका बासिन्दा त उँभो लागेका छैनन्, अरुको के पो कुरा गर्नु र होइन श्राप हो भनौं भने देशद्रोही भन्लान कि भन्ने डर छ। 
 
ए साँच्चै, हामी त वीर गोर्खाली पनि पो हो त ! झन्नै अर्को पुरुषार्थ बिर्सेको मैले।  बेलायती लाहुरे, सिंगापुरे पुलिस, भारतीय सेना, ब्रुनाईको सुल्तानका  अंगरक्षकको फौज त कहाँ हाम्रो वीरता  बिना सम्भव हुन्छ र।  सेना त नेपालको पनि छ नि, तर कुनै बेला आफ्नै दाजु भाई संग लडाई गरेर बस्नेलाई कसले बहादुर भन्ला र खै।  बहादुर त ति पो हुन् त जो अर्काको देशमा गएर आफ्नो पुरुषार्थ देखाउंछन्।

बैंकमा बसेपछि कहिले कहीं देश को अर्थतन्त्रको बारेमा विचार आउँछ अनि सोच्छु, त्यो खाडीमा गएर ४०-५० डिग्रीको गर्मिमा पसिना चुहाएर रेमिट्यान्स पठाउनेको इज्जत त के गराई भयो र, विदेश बाट आउँदा पनि जाबो एउटा टि भी ल्याउँछन्, आफ्नो परिवारको लागि, त्यो पनि डोरीले बाँधेर ।   इज्जत त उनीहरुको हुन्छ, जो चिट्ठा र दुनियादारी गरेर मुलुकबाट पलायन हुन्छन् ।  कमसेकम, "ठुला" देश गएका छन्।  भाँडा माझे पनि अब्बल किसिमका प्रजातिको मान्छेहरुको जुठो सफा गरेका हुन् नि। उनीहरु त्यस्तो मुलुक गएका छन् जहाँबाट हामीलाई हेर्दा हामी केहि नजान्ने "डुकु" देखिन्छ।  फेरी आफ्नो देश छोडेर पलायन भए पछि I love Nepal भने पछि त, उनीहरु भन्दा ठुलो राष्ट्रभक्त हामी यहाँको धुलो, हिलो, मैलो खाएर बसेको "ग्वांच" नेपाली कहाँ हुन सक्छौं र।

कोही प्रति सिधै लक्ष्य गरेर लेखेको त होइन, तर कसैको आत्मसम्मान र राष्ट्रिय भावनाले ओतप्रोत चित्त दुख्यो भने चै म भित्री मुटु, भन्छन् नि "Bottom of my heart" बाट माफी माग्न चाहन्छु।

Nishil
19/03/2017

Tuesday, January 8, 2013

"खत्तम भो यार हाम्रो देश, केहि ठिक छैन।" चलन चल्तीमा  हामी सबैले कुनै न कुनै बेला यो वाक्य बोलेकै हुन्छौं। बाटोमा हिंड्दा खाल्डा खुल्डी भेटिन्छन। सडकमा थामी नसक्नु ट्राफिक जाम हुन्छ। अति आवश्यक परेको बेला झ्याप्प बत्ति जान्छ। बजारमा प्रत्येक पटक सामान किन्न जाँदा भाउ बढेको हुन्छ। जता हेरे पनि फोहोर लाग्ने कुरा प्रशस्तै छन्। र हाम्रो मुखमा यहि वाक्य फुत्त आउँछ।

यो खत्तमको जिम्मेवार को त? यसको उत्तर दिने प्रयास शायद धेरैले गरेको छैनौं होला। यो प्रश्न जसलाई सोधे पनि एउटा जवाफ "नेता" भन्ने आउँछ भन्नेमा मलाई पूर्ण विश्वास छ। तर के यो नेताले गर्दा मात्र भएको हो त? नेता छान्ने जिम्मा कसको? भोट दिने जिम्मेवारी कसको? मलाई सोध्ने हो भने हाम्रो देश खत्तम बनाउने सबैभन्दा ठुलो हात हामी आम नागरिकको हो।

नेपालमा खाद्यान्न सबैभन्दा महँगो भौगोलिक विकटता भएको ठाउँमा छ। सरकारले  खाद्य संस्थान मार्फत चामल त पुर्याउंछ, तर स्थानीयले पाउने बेलामा कुहिएर काम नलाग्ने भएको हुन्छ। बर्षमा छ महिना पनि खान नपुग्ने गरि उब्जनी हुने ठाउँमा  खेतीबाली उब्जाउने कोशिश हुन्छ र जुन ठाउँबाट पुरा देशले बर्ष भरि खान पुग्ने उब्जनी हुन्छ, त्यो ठाउँमा घर मात्र उब्जिन्छन्। शहरमा बसेर हामीले जति लाई खत्तम भन्छौं, त्यो भन्दा सयौं गुणा बढी खत्तम त हामीले देखेको पनि छैनौं, र त्यो हाम्रै देशको कुना कन्दरामा नै छ।

अचेल विदेश पलायन हुने प्रवृतिलाई हामी गर्व संग प्रकट गर्छौं। बैदेशिक रोजगारी भनेको त कम से कम आफ्नो देशमा काम नपाएर काम गर्न जाने को भीड हो। त्यो भीड त फर्केर घर नै आउँछ। त्यस देखि बाहेकको अर्को भीड छ जुन बाहिर गए पछि फर्किने नाम पनि लिंदैन। मलाई त्यो अर्को भीड संग साच्चैंको मत भेद छ। हुन त बाहिर जानेहरुले सोच्दा हुन्," यो मुला बाहिर जान पाएन अनि हल्ला गर्छ! त्यहाँ बसेर हाम्रो आरिस गर्ने त हो नि यसले।" तर यसरी गुँड नै फेर्नु भनेको चै मेरो हिसाबले "आफ्नी आमा बिरामी भएपछि अर्काकी आमालाई आफ्नी भन्नु जस्तो नै हो"। आफ्नो घर भत्कियो भने घर बनाउने कि अर्काको घरमा बसाईं सर्ने? जहाँ सुकै जाउन, र जति सुकै संभ्रान्त भएको देखाउन्, नेपालीलाई गुन्द्रुकको झोल र भात नै मन पर्छ, र यो जुन सुकै विदेश गए पनि परिवर्तन हुँदैन।

हो ... हाम्रो घर बिग्रिएको छ। यो सत्य हो, र यसलाई स्वीकार्न मलाई मन्जुर छ। हाम्रो घरमा भ्रष्टाचार ब्याप्त छ र हाम्रो घर हाम्रै कारणले बिग्रिएको हो। हामीले असल मान्छेलाई ठिक ठाउँमा पुर्याउन सकेनौं। बेठिक कामलाई घूस खुवाएर ठिक बनाउन पछि परेनौं।शक्तिको पहुँच भएको ठाउँबाट शक्तिको दुरुपयोग गर्न र गराउन पनि कहिले नामंजुर भएन।

जंगली प्रवृति भएकाहरुको हातमा डाडु पन्यु छ र हामी जनता पनि भेडा बाख्रा नै हो। पछाडीबाट लौरो लिएर नधपाई हुदै नहुने, गोठालो छैन भने हिड्न नहुने बाटो हिंडीहाल्ने। बाटोमा ट्राफिक प्रहरी छैन भने सडक पेटीबाट सवारी चलाउन हामीलाई धक लाग्दैन, भौतिक संरचना भत्काउन जोश आउँछ, आकाशे पुल मुनिबाट बाटो काट्नु त हाम्रो सामर्थ्य हो, बिदेशका सफा सडकको कुरा गर्दै गर्दा सडकमा प्याच्च थुक्नमा पनि कुनै ग्लानी छैन र यसै बिच हाम्रो मुखबाट सधैं झैँ दिब्य ज्ञानको वृष्टि हुन्छ "खत्तम भो यार हाम्रो देश, केहि ठिक छैन।"

Nishil
08/01/2013

Wednesday, October 3, 2012

नेपालीको राष्ट्रियता कहाँबाट जाग्छ कुन्नि बेला बेला। बिचरा जनतालाई अहिले खायो भरे के खाउँ, भरे खायो भोलि के खाउँ भन्ने गरि महंगी बढेको छ। विदेशमा पैसा कमाउने सपना बोकेर गएकाहरु लाश बनेर फर्किन थालेको धेरै भैसक्यो। अहिले पनि यहाँ  भएका नेपालीहरुलाई सोध्ने हो भने, आधा भन्दा बढीको सपना विदेश गएर आफ्नो भविष्य सुनौलो बनाउने नै हुन्छ।

आफुले थाहा नपाएको बाटो हिंड्नलाई होस् या आफुले गर्न नसक्ने काम होस्, हामी त्यसको लागि एउटा अगुवा खोज्छौं। कालान्तरमा ति अगुवाहरुलाई नै शायद नेता भनेर नामकरण गरेको हुनुपर्छ। नेता, यानी नेतृत्व गर्न सक्ने अगुवा। शुरुवात त राम्रै  रूपमा भएको हुनु पर्छ, अझै पनि राम्रो संग बाटो देखाउने मान्छे  त छन् यो दुनियामा, शायद हाम्रै देशमा मात्र यसको अनिकाल लागेको हुनुपर्छ।

जति बेलाको कुरा मैले उल्लेख गर्न खोजेको हो, त्यो समय ताका म हुन त धेरै सानो थिएँ तर पनि मलाई थाहा छ, हामी नेपाललाई हिन्दु राष्ट्र भनेर गर्व गर्दा कसैलाई पनि पीर पर्दैन थियो। हाम्रो देश "चार जात र छत्तिस वर्ण" को भनेर छाती फुलाउंदा कसैले जातीय विभेदको कुरा निकाल्दैन थियो। "श्रीमान गम्भीर नेपाली"  गाउँदा सधैं छाती फुलेल र शीर नतमस्तक हुन्थ्यो।

तार्किक रुपमा भन्नेहरुले, समयको चाहना भन्लान या कुनै अर्को शब्दले तर्क देलान तर पनि "श्रीमान गम्भीर नेपाली" देखि "सयौं थुंगा फूलका हामी" सम्मको यात्रालाई मेरो परिभाषाले समयको चाहना भन्दा पनि लूटको छूट भन्ने उपर्युक्त भेट्छ। न त म इतिहासविद् नै हो, न त राजनीतिज्ञ, तर पनि यति थाहा छ, जुन बेला हामी गर्व गरेर "श्रीमान गम्भीर नेपाली" गाएर नेपालीपनमा गर्व गर्थ्यौं त्यो अहिले न त कसैमा देखेको छु, न त कसैमा देख्ने आस नै गरेको छु। प्रत्येक राष्ट्रमा एउटा कर तिर्ने नागरिक सम्मानको हकदार हुन्छ, किनकी उसले कर देशको बिकासको लागि भनेर तिरेको हुन्छ। आज, प्रत्येक महिनामा मेरो तलबमा कर कट्टी हुँदा म आफैंमा हीनता बोध हुन्छ। कर त कट्टा भयो तर के क लागि? यो प्रश्नले मेरो पिछा कहिले छोड्न सकेन।

छिमेकी भनेको एक आपसलाई सहयोग र सदभावको भावना राख्ने नाता हो। कम्तिमा समाजशास्त्रले चाहीं यहि भन्छ। अहिले हामीले देख्दै भोग्दै र सुन्दै आएको कुरामा छिमेकीको परिभाषा परिवर्तित देखिन्छ। अहिले छिमेकी भनेको इर्ष्या, डाहा र देखासिकीको माध्यम बनेको छ। यहाँ कुनै नेपालीले देशद्रोह गरेपनि कसैको राष्ट्रियता जाग्दैन, नत्र खुलेआम भ्रष्टाचार गर्नेहरु किन अझै सम्मानितहरुमा गनिन्छन्? कि त भ्रष्टाचारलाई देशद्रोह हो भन्नु भएन। नत्र, राष्ट्रको कोष दुरुपयोग सांचैको मानेमा देशद्रोह हो।

नेपालीको राष्ट्रियता त्यो बेला जाग्छ, जुन बेला अमेरिकामा, कुनै जुत्ता कम्पनीले आफ्नो जुत्तामा बुद्धको चित्र छाप्छ। जुन देशमा आफ्नो देशको झन्डा भएको कट्टु पनि लगाउँछन् , त्यस्तो देशमा यो कुनै ठुलो कुरा नै होइन। हाम्रो नेपालीत्व त्यति बेला जाग्छ जतिबेला एउटा भारतीय कलाकारले नेपाल मन पर्दैन भन्छ, जबकी त्यो भनेको पनि थिएन। (त्यो काण्डमा Rendezvous with Simi Girewal हेर्ने मध्यको म पनि एक हो)। हिन्दी चलचित्रलाई रोक लगाउनुमा हामी राष्ट्र प्रेम महसुस गर्छौं।

हाम्रो देशमा छिमेकीको इर्ष्या गर्ने बेलामा राष्ट्रियता हावी हुन्छ, अरु बेला हावा हुन्छ। नेपालमा यहि एउटा छिमेकी नभएको भए, न त जनताले खान पाउँथे, न त लाउन नै।  अर्काको प्रगति देख्न नसक्नेले आफुले त्यो भन्दा धेरै प्रगति गरेर देखाउन सके पो साँच्चै अर्थमा केहि भन्न मिल्छ नत्र यो इर्ष्या र डाहाको मात्र राष्ट्रियता कहिले सम्म र किन जगाई राख्ने? 

Thursday, September 20, 2012

आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु! यो विचार आफ्नो  जागिरे जीवनमा कति जनाले ल्याएको छैन होला र ! म यो मामलामा पनि पहिलो चाहिं होइन। सधैं घर - जागिर , जागिर-घर।

क्याम्पस पढुन्जेल, "पढ्न त पढियो, अब चट्ट एउटा जागिर पाए त "  हुन्थ्यो सधैं मनमा खेल्ने कुरा। पेट पाल्नलाई  होस्  या समय फाल्नलाई , कनि - कुथी सबैले केहि न केहि जागिर खाएकै छन्। जागिर पाउने बेलामा गर्नु पर्ने जि - हजुरी र लगाउनु पर्ने सोर्स - फोर्स, ज्याक त छदैं छ।  अब जागिर पाए पछि अर्को पिरलो, आफु सुरु सुरु हिंडेर कार्यालय जाँदै गर्दा कि त पानी पर्छ, कि त सधैं हत्तार हुने त्यो भटभटेले हिलो छ्याप्छ, होइन भने बाटो काट्न पनि पालो नपाएर नपाएर ढिलो हुन्छ।  त्यसमाथि हाकिमको जातै बेइमानी, सधैं जसो ढिलो भएको बेलामा उ पहिले नै पुगेर कुर्सीमा बिराजिसकेको हुने। बल्ल तल्ल झुक्किएर समयमा पुगेको दिन, उसको भुँडी हल्लाउँदै एघार बजे तिर मात्र सवारी हुने।

उहिले एउटा किताबमा पढेको थिएँ, "कुनै कुरामा आफु निर्धो भएको महसुस भयो भने आफु भन्दा तलको तप्काकोलाई हेर्नु, सबै ठिक लाग्छ"। मान्छेको जात न हो, कहाँ भनेको टेरिन्छ र! किताबको उपदेशमा आफ्नो भागको सप्रसङ्ग व्याख्या थपियो, " सधैं तलको तप्का तिर हेर्न थालें भने त कहिले प्रगति गर्नु?" आफ्नो ब्याख्या न पर्यो, किन छोड्ने भन्दै आफु भन्दा माथि नै नजर दौडाउन शुरु भयो। आलो काँचो मान्छे, भर्खर जागिर सुरु गरेको, माथि भएकाहरु भनेको त आकाशको फल आँखा तरी मर नै थियो नि। पिलन्धरे ज्यान भएको मलाई, ट्याम्के भुँडी हल्लाउँदै आउने हाकिम देखेर खुब आरिस लाग्थ्यो।

जसो तसो एउटा समय कटाउने जागिर खाईराखेको बेलामा मैले बैंकमा जागिर पाएको, भुइँमा खुट्टा भएनन्। म पनि अब सानो मान्छे त कहाँ हो र भन्ने फुर्ति चढीहाल्यो। हुन पनि हो नि, पाईरहेको तलबको दोब्बर भन्दा पनि बढीको जागिर, त्यो पनि बैंकमा। शुरुको दुई -चार दिन त, के गर्ने र कसो गर्ने भन्ने अत्यास मै बित्यो। नयाँ ठाउँको चमक-दमक,  ठुलो अफिस, घाँटीमा टाई झुन्डाएर हिंड्न पाउँदा, के के न पाए जस्तो भएको थियो।

समय कति छिटो बित्छ भन्ने हिजो आज तिर मात्र भेउ पाउँदैछु। पहिलो पल्ट बैंकमा जागिर पाएको खुशियाली  मनाएको छ वर्ष भन्दा अलि माथि भैसकेछ। यो छ बर्षको अन्तरालमा मैले दुईवटा बैंकको मानव संशाधन बिभागलाई राजिनामा बुझाईसकें। प्रत्येक ठाउँमा राजिनामा बुझाऊंदा, "अब चाहिं यो बैंक छोड्दिन, मैले खोजेको सुबिधा पनि मिल्यो, काम पनि ठिक छ, मस्ती भइहाल्यो नि" भन्ने भावना थियो । तर उही त हो नि, मान्छेको जात, के ले पो चित्त बुझ्छ र। खै के खै के कुराले मनमा अड्को थाप्छ, दिमागमा बाह्र सत्ताइस कुरा घुम्छ अनि दिनभरि घोसे मुन्टो लगाएपछि  निष्कर्ष यहि आउँछ "आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु!"

Nishil
20/09/2012

Tuesday, September 18, 2012

लेख्ने कुत्-कुत् लागेपछि कसले पो छेक्न सक्छ र। मैले सबै भन्दा अगाडी थाहा पाएको साहित्यिक विधाको पत्रिका भनेको "गरिमा" हो। हुन त मैले लेख्ने कुराहरु साहित्यको कुन विधामा पर्छ मलाई थाहा छैन, मैले त आफुमा भएको तल तल मेटाउने मात्र प्रयास गर्दैछु। मलाई साहित्य र लेख्नेको  "खुजली" अहिले देखि लागेको चाहिँ होइन। म आफुले पढेको कथा, उपन्यास आदिमा खुब रमाउंथें। बेला अनुसार, मैले कमिक्सबाट पढ्न शुरु गरेको हो। स्कुले किताब भन्दा, स्वाभाविक रुपमा कमिक्स नै बढी मन पर्थ्यो। बालाई कमिक्स किनी दिनु भन्दा, " तँ मलाई कमिक्सको एउटा फाइदा भन् न, म तलाईं जति भन्छस्  त्यति किनी दिन्छु" भन्नुहुन्थ्यो। त्यो बेला न त मलाई त्यसको फाइदा थाहा थियो न त म घाटा नै केहि देख्थें। त्यहि भएर दमक चोकमा भएको मित-हजुरबाको "श्रेष्ठ बुक्स एंड स्टेशनरी"मा दिन भरि कमिक्स पढेर बस्न मलाई ठिक लाग्थ्यो।

उमेर बढ्दै गए पछि कमिक्सलाई बिट मारेर Novels तिर मन जान थाल्यो। राज कमिक्समा "नागराज" र "सुपर कमाण्डो ध्रुब" का "कारनामा"हरु भन्दा ध्रुब चन्द्र गौतमका उपन्यास र अंग्रेजी Fiction Novelist हरुको लेखाई बढी चित्त बुझ्दो लग्न थाल्यो, तैपनि मैले आजको दिन सम्म पनि कुनै कमिक्स भेटें भने पढ्न चाहिँ छोड़दिन।

मैले जति गफ़ लगाए पनि, मैले ठुलो शहरको स्कूल पढेको होइन। सन् १९९९ मा  S.L.C पास गरेको बेला दमक कहाँ अहिलेको जस्तो थियो र। मलाई अझ सम्म लाग्छ, मेरो अंग्रेजीको आधार भनेको शारदा मिसले पढाएको Grammar र हरिनारायण सरले लेखाएको Essays हो। सुरु सुरुमा अंग्रेजी उपन्यास पढ्न बस्दा नबुझेको एक दुई वटा शब्दको अर्थ या त Dictionaryमा खोज्थें होइन भने मिल्दो अर्थ जे लाग्छ, त्यहि हो भनेर मानेर पढ्थें। साँचै भन्नु पर्दा खेरि, मैले पहिलो पल्ट अलि ठुलो लाईब्रेरी देखेको भनेको काठमाडौँमा शंकर देव पढ्दा मात्र हो। मेरो स्कूलमा त त्यो बेला लाईब्रेरी छदैं थिएन। दस जोड दुई पढ्दा लाईब्रेरी भनेको एउटा किताब कोचेको कोठा थियो, जहाँ किताब छान्ने होइन, एउटा ग्रिल भएको झ्यालबाट सर संग मागेर लिने गर्नु पर्थ्यो। त्यो भन्दा बिजोग हालत  भएको लाईब्रेरी यहि ठुलो शहरमा  भएको नामूद कलेजको थियो। त्यस्तो लाईब्रेरी भन्दा त नभएको नै ठिक। एउटा बिषयको दुई देखि तिनवटा किताब, त्यहाँ देखि बाहेक भनेको दैनिक पत्रिका मात्र। अनि कहाँ पाउनु त्यस्तो ठाउँमा आफुलाई चाहिने किताब। त्यहाँको coordinator लाई भन्दा, सधैं एउटै  जवाफ आउंथ्यो,"किताब त reference को लागि हो नि। २ - ३ वटा भए पुगिहाल्छ, कहाँ लाईब्रेरीमा dependent भएर हुन्छ र"। त्यहि बेलाको झ्वाँक होला अहिले सम्म म मा रहेको।

खासमा मैले जाने सम्म टाढा टाढा सम्म मेरो कोही पनि नातेदार छैन जसले नेपाली साहित्यमा केहि योगदान गरेको होस् , अब अंग्रेजीको त कुरै नगरौं, हुन त मैले नै के पो गरेको छु र। अहिले सम्म मैले गरेको भनेको, पढाई तुर्याएर जागिर खाएको हो। जागिर पनि यस्तो नौटंकी ढंगको परेको छ। हुन त बिषयगत जागिर नै हो, तर आफु परें Marketing पढेको, जागिर छ Treasury भन्ने बिभाग, जहाँ अंक र नम्बर बाहेक केहि भए त मरीजाउँ। यहि झोंकमा एक दिन सेन्ट ज़ेविएर्स क्याम्पसमा अंग्रेजीमा एम ए को भर्ना खुलेको देखेर फारम लिन गएँ। अलि अलि मात्र खुशी भएको थिईन त्यो दिन, बल्ल आफुलाई शोख लागेको बिषय पढ्ने मौका मिल्यो भनेर। Entrance Exam दिएँ, र त्यसमा दोस्रो भएको रहेछु। पहिलो  त जिन्दगीमा म एक पल्ट मात्र भएको छु, आफ्नो आमा बाउको पहिलो सन्तान ( पहिलो भने पनि भयो, अन्तिम भने पनि भयो) त्यस बाहेक मेरो पहिलो भएको भनेर धक्कु लगाउने कुरा नै केही पनि छैन। जाँच पास भएपछि, अन्तरवार्तामा, बि ए मा अंग्रेजी मेजर लिएको हुनु पर्छ भनेपछि म खंग्ग्रंग भएँ तर जे भए पनि बि ए अंग्रेजी मेजरहरुको भीडमा दोस्रो त भएको थिएँ भनेर चित्त बुझाएँ।


Nishil
18/09/2012

Monday, September 17, 2012

पहिलो प्रयास
कहिले कहीं सारो सकस पर्छ । खै के - के कुराले चित्त बुझ्दैन। कसैलाई भनौ भने त्यस्तो ठुलो कुरा पनि हुँदैन, कसैलाई नभनी बसौं आफैलाई  गाह्रो। लौ जा त ! भनेर आज एउटा ब्लग खोलें। खोल्ने बेलामा त मा पनि कत्ति न ठुलो लेखक हूँ , मैले लेखेको सबैले पढ्छन भन्ने लाग्यो। बिहान-बिहान कान्तिपुरमा ह्रस्व दीर्घ पनि नमिलाउने र जुन मन लग्यो त्यहि (स, श, ष) लगाएर लेख्ने पत्रकार  भन्दा त राम्रै लेख्छु भन्ने लागेको थियो। अब लेख्न सुरु गर्ने बेलामा के लेख्ने भन्ने सोच्दा सोच्दै अलि अलि भएको कपाल पनि झर्ला जस्तो छ।

खासमा मैले ब्लग खोलेको कारण चाहिँ मनमा लागेको सबै कुरा यहिँ खन्याउछु भनेर हो। त्यो facebook मा कति झुण्डिनु? लेखेको कुरा दुई चार जनाले लाईक त गर्छन तर बाँकीले चाहिँ, "यो कति सारो बाठो हुनु परेको ... जान्नु तान्नु केहि छैन" पनि भन्छन कि जस्तो लाग्छ।  खुब सिनेमा हेर्नुपर्ने मलाई, दुई - चार वोटा सिनेमाको review पनि लेखिटोपल्छु जस्तो लाग्यो। यहाँ लेखें भने, लेखे जस्तो पनि हुने, Internet मा posted छ भन्ने पनि लाग्ने, र कसैको timeline मा टुप्लुक्क पनि नझुल्किने। हुन त एक आध पल्ट यो ब्लगको लिंक पनि facebook मा त राख्छु होला, तर लिंक राख्दा पढ्ने इच्छा भएकोहरुले मात्र हेर्छन, बाठो भै टोपल्छ भन्नेहरुले त पक्कै पनि हेर्दैनन्। यसको प्रचार गरिन भने मेरो गीत जस्तै हुन्छ। एक जमानामा, गीत लेख्ने भूत चढेको थियो मलाई। एउटा diary को आधा जति त गीत लेखें होला। एउटा गीतमा संगीत पनि भरियो (संगीत: सुगम पोखरेल), रेकर्ड पनि भयो, बजारमा पनि आयो। आजको दिनमा त्यो गीत कि उज्ज्वल भण्डारी (सो गीतको गायक) कि म संग मात्र छ होला। उ बिचराले पनि पहिलो पल्ट एल्बम निकालेको म बिचराको पनि पहिलो पल्ट गीत कसैले गाएको। न त उ नै गायकमा स्थापित हुन सक्यो, न त म नै गीतकार भएर चल्न सकें।

यो लेख्दा पनि मेरो ब्लग हेर्ने मान्छे हुन्छन, पढ्छन जस्तो त लागेको छैन। त्यसमाथि मैले नेपालीमा लेखेको। अंग्रेजीमा त दुई चार पन्ना लेख्न सक्छु जस्तो लाग्छ तर एघार  कक्षा  सकाएपछि नेपालीमा आफ्नो नाम बाहेक केही लेखेको छैन। लेख्न सुरु गर्दा त मलाई आउने सबै कुरा भरिभण्ड पारेर लेख्छु भन्ने सोचेको थिए। जब लेख्छु भनेर keyboard मा औंला चलाउन शुरु गरे, तब मैले सोच्न थालें," मलाई के चाहिं आउँछ?" Internet को दुनियाँ त ठुलो छ, साह्रै ठुलो। यसमा मलाई आउने कुरा खोज्न धौ - धौ पर्यो। अहिले सम्म आउँछ भनेर शान-पट्टि दिंदै बसेको कुराहरु त सबैलाई थाहा छ जस्तो लाग्यो। फेरी मलाई जति आउँछ त्यति नै मात्र लेख्ने हो भने मेरो कुरा किन पढ्नु, मैले लेखौनऄ नौ࠰ࠤࠌ࠭ॄ᠐ ࠕी࠴࠾को expert हरुको त ताँती नै छ होला नि।

यति सकुन्जेल सम्म मैले आँट त मारेको छैन तर पनि मेरो सपना भनेको यो ब्लगलाई जीवित राख्नु हो। जसरी  मैले पहिलो Novel, Sydney Sheldon को A Stranger in the Mirror पढेपछि सोचेको थिए, "म चालिसको हुँदा सम्म घरमा सानो तिनो लाइब्रेरी बनाउँछु।" त्यो सपना अहिले सम्म चालु छ। घरमा करिब-करिब पचास त काटे होला किताबको संख्या। त्यहि सपनाको आड, भरोसा र पागलपनमा यो अर्को सपना देखेको छु, मेरो ब्लगलाई  जिउँदो राख्ने। हुन त मेरो बाले यो पढ्नु भयो भने, " लु छोरा तँ लेख्न छोड्दै नछोड" भन्नुहुन्छ, बाको नजरमा त कहाँ म सानोतिनो मान्छे हो र।  तर मेरो आफ्नो प्रयासमा म कहाँ सम्म पुग्छु हेरौं।

Nishil
17/09/2012